पहिलो भेट


एकै नजरमा आँखामा बस्ने त ऊ देखिदैन थीइ। तर, उसमा अनौठो आकर्षण भने पक्कै थियो। पहिलो नजर हेर्दा साधारण भन्दा साधारण लागेकी ऊ जति जति दोहोर्‍याएर हेर्‍यो उसको सौन्दर्य उती निखारिएको पाउँथेँ। कसैको मतलब नगरि आफ्नै धुनमा मोबाईलमा छानिछानी गीत सुनिरहेकी,खसक्क बाँधेको कपाल,मेक अप नगरिएको अनुहार,धोक्रे टि-सर्ट अनी त्यस्तै जिन्स बाटमा आमा देखिने युवतीको भन्दा भिन्न पहिरन यस्तै देखेको थिए मैले उसलाई क्रीतिपुर माईक्रोमा। विश्वविध्यालय गेट नजिकैबाट माईक्रो चड्ने बितिक्कै पछिल्लो सिटमा बसेकी उसलाई देखेको थिएँ। उसका साथमा अरु दुई चार केटीहरु पनि थिए चलेको आधुनिक पहिरनमा सजिएका तर मेरो ध्यान ऊ तर्फै मोडियो।
 जब जब उसलाई हेर्थे ऊ झन झन राम्रो लाग्थी। सुन्दरता भन्नासाथै साधारणत: बाहिरी आँखाकै भ्रममा पर्छन मान्छेहरु,तर उसको सुन्दरता बहिरी आँखाले नदेखिने छोपिएको भनौ लुकाएर/बचाएर राखिएको कुनै दिव्य ज्योति झैँ। यसले आफ्नो सुन्दरता लुकाउनै यस्तो असुहाउँदो पहिरन लाएकी हो तर मेरा आँखाबाट उसको त्यो सुन्दरता लुक्न सकेन। 'ल है कालिमाटी झर्नुहोस्' भनेर ढोकाको फुच्चे भाईले करायो। ऊ अनी उसको समुह त्यहीँ ओर्लियो। खाली भएको पछाडिको सिटमा थ्याच्छ बसेँ र आँफ्नै मनलाई सोधेँ ''के ऊ भोली पनि यती नै बेला माईक्रो चड्छे होली''? मन चुपचाप रह्यो सायद 'प्रतिक्षा गर' भन्न खोज्दै थ्यो होला तर म उसैको कल्पनामा हराईसकेको थिएँ आजलाई।

फर्किएर घरदेश आउँछु भन्छ परदेशी


फर्किएर घरदेश आउँछु भन्छ परदेशी,
रातो सारी धागो चुरा ल्याउँछु भन्छ परदेशी ।

आफ्नै गाउँ ठाउँ प्यारो पराई सधैं परदेश,
फर्की अब पाखो खेती धाउँछु भन्छ परदेशी ।

पुग्यो अब एक्लै बाँच्न आउँछु तिमीलाई लिन,
तिम्रै स्वप्न हर रात पाउँछु भन्छ परदेशी ।

तिमी साथ भयौ भने सहज बन्छ बाँकी यात्रा,
छोड्यौ भने यी हात हराउँछु भन्छ परदेशी ।

घुम्टो ओढी पर्खी बस मेटिन्छ हाम्रो दूरी,
पञ्चेबाजा सँगै डोली सजाउँछु भन्छ परदेशी।

रजनी


झरीले रुझेको रात अल्छि मान्दै हिडिँसकेको छ र कलिलो घाम झ्यालबाट छिरेर रजनीलाई ओछ्यानमै भेट्न आईपुगेको छ। शनिबार छुट्टीको दिन,अन्य दिन पाँच बज्दा नबज्दै उठेर क्याम्पस दौडने ऊ आज आठ बजिसक्दा पनि अल्छि मान्दै सुतिरहेकी छे। ओहो!सानीमाले आजै पो बोलाउनु भएको हो त है,खानै खाने गरी आईज भनेर 'भएन अब'लामो हाई काढ्दै उठेर बाथरुम छिर्छे। फ्रेस भएर काफी पिउँदै झ्यालबाट रातभरीको झरीले सिनित्त पखालेको वरपरको सडक र खेत नियाल्छे। मनसुनको बेला न हो कतिबेला घाम कतिबेला पानी के भरोसा? भर्खरै लागेको घामको अगाडि ढप्प आएर कालो बादल बसिदिन्छ र अहिलै पानी परिहाल्ला झै देखिन्छ। हरियो भएको असारे धानको फाँट तिर हेरेर खै कुन्नी कुन दुनियाँमा हराउन पुग्छे ऊ पनि। सायद हिजो साँझ देखिकै होला अलपत्र सँग ओछ्यानकै कतै कुनामा परेको उसको मोबाईल एक्कासी बज्न थाल्छ 'ये क्या हुवा तेरे मेरे प्यार कि बाते क्युँ दुनियाँकी नजोरेमेँ आगई.............' हतारिदै मोबाईल खोजेर हेर्छे सानीमाको फोन रहेँछ।
...........
'हजुर, म निस्किनै लागेँ  अब एकैछिनमा आईपुग्छु।'
.......
'हस, हस हुन्छ।'
सानीमाको घरबाट एकाध घण्टामा निस्किएर कतै नजिकैको क्याफे छिरेर आजको दिन बिताउन लक्ष्य बनाउछे। पाँच\छ दिन सम्म अफिस आउँजाउँ मै ठीक्क दाँयाबाँया हेर्ने फुर्सद सम्म हुँदैँन उसलाई। कफी सकेर किताबको र्‍याक,सानो टेबुल अनी झ्यालका सिसाको धुलो झारेर यताउता छरिएका किताब टिपेर र्‍याकमा राख्दै आफ्नो सानो कोठा चिट्ट पार्छे। हतार हतार लुगा फेरेर झ्यालबाट बाहिर नियाल्छे,पानी पर्न ठीक्क परेको देखेर एउटा ज्याकेट पनि बोकी ल्याप्पी छोड्ने त कुरै भएर त्यो त उसको सबै भन्दा नजिकको प्रिय साथी अनि उसको सर्वस्व नै हो। स्कुटर निकालेर क्षणभरमै त्यहाँबाट अलप भई।
आफन्त अनी परिवार सँग झ्याम्मिन रजनीलाई रहर छैन।आफ्नै दुनियाँमा हराउन,आफ्ना अनुभुती,कल्पना र भावुकतालाई शब्दमा बानबुन पार्नमै रमाउछे ऊ। बिहानको समय क्याम्पस र दिउसको समय आफ्नो आवश्यकता पूर्तीका लागि आवश्यक खर्च जुटाउन कुनै निजी अफिस धाउनुमै उसको आईतबार देखी शुक्रबार बित्छ। बिदाका दिन र शनिबार ऊ एकाध घण्टाकै लागि भए पनि आफुलाई मन पर्ने कुनै क्याफे वा पार्क तिर बिताउछे र मौका मिल्ना साथ खररर आफ्ना औँलाहरु घोडा झैँ किबोर्डमा दौडाएर शब्दको बिउ पनि छरिहाल्छे। उसो त आज पनि सानीमाको अग्रह टार्न नसकेर अनी टारेको खण्डमा घरबाट आमाले फोनमा सुनाउने गुनासो बाट जोगिन मात्र ऊ गएकी छे त्यहाँ।
'सानीमा अफिसमा क्लोजिङ चलिरहेँको छ,आज पनि एक बजे तिर सबैलाई बोलाएको छ,त्यसैले म अहिले जान्छु फेरी आउँछु नि है फुर्सदमा' त्यहाँबाट उम्कने दाउ खोज्दै रजनी बाहाना बनाउँछे।'लौ त लौ छोरी, उसो त तँ झुक्किएरै मात्र आउछेस् आईस भने पनि फुर्सद  तँलाई कहिलै भएन,काम नगरि पनि जीवन धान्न गाह्रो काम गर्‍यो यी यै चाल हुन्छ बिदाको दिन सम्म फुर्सद पाईन्न।लौ जा नानी फेरी आउनु है फुर्सद मिले सम्म।'  ''हस'' भन्दै आफ्नो झुठ सम्झेर मन मनै खितितित्त हाँस्छे र  हिँड्छे। एक मन उसलाई नराम्रो पनि लाग्छ तर आईपुग्न लागेको माईतिघर चोकले उसको त्यो मन तुरुन्तै फेरिदिन्छ।
रजनीका आँखा उत्साहित हुन्छन उसलाई देख्न। शनिबार भएकोले बाटोमा अरु दिन जस्तो ट्राफिक पनि हुँदैँन। फनक्क दाँया घुमेर स्कुटरलाई पार्किङमा हाली र त्यहीँको क्याफेमा छिरी। उसो त रजनीलाई यो क्याफे त्यती मन पर्दैन तर पनि उसलाई हेर्ने आफ्नो मन मार्न ऊ कहिलै सक्दिन र प्राय: जसो आउछे। बिदाको दिन भएकाले होला केही प्रेमिल जोडीहरु पनि कफी पिउने बाहानामा त्यतै अल्मलिरहेका छन। बाटो पट्टी फर्किएको कुनाको एउटा टेबुल खाली देखेर रजनी भोको बाघले सिकार झम्टे झैँ त्यहाँ पुग्छे। बसिसकेर उसलाई नियाल्न खोज्छे ऊ पहिलै देखि उसैलाई हेरिरहेँको झै लाग्छ। रजनीको अनुहार भरी लाज र चन्चलता एकै साथ पोखिन्छ। कसैले आफ्नो बद्लिएको रुप देख्यो कि भनेर चोर आँखाले दाँयाबाँया हेर्छे तर सबै आ-आफ्नै धुनमा देख्दा फेरी उसैलाई हेर्दै रहस्यमयी हाँसो हाँस्छे र कफिको अडर गर्छे। ल्याप्पी अन गरेर उन्मुक्त्त घोडाहरु झैँ आफ्ना औंलाहरुलाई किबोर्डमा दगुराउँछे।
                                                        ******
''बाहिर सिमसिम पानी पर्न थालिसकेको छ। सधैं सुन्दर लाग्ने उसको आकृती पानीले भिजेको बेला अझै मनमोहक बनिदिन्छ। ऊ को हो? भन्ने मैले चिनेकी छैन अनि चिन्ने बाटो पनि छैन। उसलाई मैले बिगत पाँच\छ महिना पहिले देखि नै यो मोडमा देख्दै आएकी हुँ। स्कुटर बनाउन दिएर माईक्रोको यात्रा गर्दा अनायासै उसको आकृतीमा मेरा आँखाहरु ठोक्किएका थिए,सायद यहीँ माईतीघर नजिकै भर्खरै खुलेको कुनै नयाँ कलेजको बिज्ञापनमा थियो ऊ। श्यामश्वेत वर्णको उसको फोटोका साथमा ब्रिटिश डिग्रीका साथै अरु खै के के लेखिएको थियो। जब जब उसलाई नियाल्छु उसका आँखा पनि मै तर्फ नियाल्दै गरे झैँ लाग्छ।जब उसलाई मैले पहिलो दिन देखेकी थिएँ कता कता देखे जस्तो,चिने जस्तो,टाढिएको आफन्त लामो समय पछी पुन: भेटे जस्तो महशुस गरेकी थिएँ। उसका एक जोडी चम्किला आँखाहरुले मलाई हुरुक्कै पार्थ्यो। जब जब म माईतीघरको यो मोडमा आईपुग्छु तब मनमा एक खाले चन्चलताको बोध हुने गर्छ। उसलाई जती नियाले पनि यी आँखाका रहर पुग्दैनन। म फेरी टोलाउन थाल्छु।
क्याफेमा कोही पसेको आभाष पाउँछु तर मलाई मुन्टो उठाएर त्यता हेर्ने रहर लाग्दैन अझ भनुँ उसको कल्पनामा डुबिसकेकी मलाई फेरी तैरने रहर हुँदैन। 'एस्क्युज मी, म यहाँ बस्न सक्छु?' सारा क्याफेमा तैले मै छेउ मात्र खाली ठाउँ देखिस्, मन मनै भुतभुताउँछु। ''हजुर'' फेरी उसैको बोली सुनेँ। हैन अझै यहीँ र'छ त यो मान्छे नबोली बसेपछी त जानु नि अन्तै कत्ती न म उसैलाई कुरेर बसेकी झैँ पो गर्छ त! भुतभुताउँछु फेरी एक पल्ट आँफै सँग र 'हुन्छ बस्नुहोस्' ऊ तर्फ नहेरी बोलिदिन्छु।
''कथा, उपन्यास केही लेख्दै हुनुहुन्छ कि जस्तो छ नि, कतै मेरो उपस्थितिले डिस्टर्ब त भएन तपाईलाई? कफी पिउँ भनेर पसेको अन्त खाली रहेनछ। मै आईपुगेँ हजुरलाई अल्झाउन।''
उसको उपस्थितिले मेरो कल्पना भताभुङ हुने स्थिती त आईसकेको छैन। हैन, त्यस्तो केही भएको छैन भनेर ल्याप्पी आफु तिर तान्छु। यो मान्छे बसेको ठाउँमा उसलाई बसिरहेँको देख्न आतुरिन्छन आँखाहरु तर यस्तो कसरी होला र?लामो सास तान्छु र कफी पिउँन थाल्छु।
                                                      ******
झरीको एक साँझ म सधैं झैँ आफ्नो प्रिय क्यापुचिनोको साथमा क्याफेको एक कुना ओगटेर बसेकी छु। सधैं झै मेरो साथमा मेरो सर्वस्व(ल्याप्पी) पनि छ।आज पनि म उसकै कल्पनामा केही शब्दहरु बानबुन पार्ने सुर कस्दै छु। त्यतिकैमा क्याफेमा कोही पसेको आवाज आउँछ। कल्पनामा नहराईसकेकी म आगन्तुक तर्फ मोडिन्छु। ओहो !! मेरो आश्चर्यको सिमा रहदैँन। सपना र बिपनाको भेद छुट्याउन आँखा मिच्छु। के को सपना हुन्थ्यो बिपनैमा रहेँछु। लौ न ऊ त झन मै तिर पो आउँदै छ त! मलाई उकुसमुकुस हुन थाल्छ। जुरुक्क उठेर त्यहाँबाट भागुँ झैँ पनि लाग्छ तर त्यसो गरिहाल्न भ्याउँदिन। क्याफे प्राय: भरिएकै देखिन्थ्यो। ''एक्स्क्युज मी, क्यान आई सिट हियर?''उही परिचित र रहस्यमयी मुस्कान छर्दै ऊ बोल्छ। म ट्वाल्ल परेर उसको मुख हेरिरहन्छु। केही जवाफ नपाए पछी ऊ पनि अलमल्लमा पर्छ।
''एई किन त्यसरी टोलाएकी हुँ?'' उसले एक्कासी मेरा कुममा हात राखेर झकझक्याए पछी पो बल्ल यथार्थमा ओर्लन्छु म।
खिस्स हाँसेर 'बस्' भने र ल्याप्पी आफु नजिक ताने।
''किन हेरेको हेर्यै गरेकी तिमीले, किन म अचम्म लाग्दो देखिएको छु र?'' उसले फेरी त्यहीँ जादुमय मुस्कानमा आफ्ना चम्किला आँखा नचाउँदै बोल्यो।
परिचितलाई झै पहिलो पटक मै उसले सम्बोधन गरेको ''तिमी''ज्यादै प्रिय लाग्छ। मन मनै दङ्ग पर्छु। बेग्लै दुनियाँमा पुगेको भान पर्छ मलाई। 'त्यस्तो केही होईन त्यतिकै, फोटोमा झैँ दुरुस्तैदेखियौ त्यसैले छक्क परेकी' थाहै नपाई बोलेछु।आफुले भनेको कुरा सम्झेर मन मनै आँफै सँग मुर्मुरिए कत्ती न फोटोमा हेर्ने गरेको कुरा सुनाईहाल्नु परेको तँलाई।
''कहाँ देख्यौ मलाई तिमीले'' उसले फेरी प्रश्नको झटारोले हिर्क्यायो मलाई।
उसका प्रश्नको जवाफ दिने क्रममा भर्खरै चाहिने भन्दा बढी भनेकी थिएँ। त्यसैले यस पटक मन बाँध्दै भने त्यहीँ 'माईतीघर चोकमा।'
जवाफमा ऊ हाँस्छ मात्रै। मलाई राम्रो लाग्छ ऊ हाँसेको त्यसैले हेरिरहन्छु।
''अनि यसरी एक्लै एक्लै क्याफेमा? कि कसैको पर्खाइमा थियौ?'' उसले आँखा जुधाउँदै फेरी म तिर प्रश्न फाल्यो।
'अँ पर्खाईनै भने पनि फरक नपर्ला अबलाई किनकी तिमी जो सामुन्ने छौ।' उसै गरी मैले पनि रहस्यमयी तर वास्तविक जवाफ दिन्छु। साँच्चै भन्ने हो भने म चाहन्थे कि कहीँ कतै म उसलाई देखुँ त्यसैले सधैं मेरा आँखाहरु एक खोजिमा लाग्थे तर फेरी निराश हुन्थे तर आज यी आँखाले खोज्नै नपरी खोजाई पूर्ण भएको थियो।
मेरो कुराले उसलाई घत परेछ ऊ मज्जैले हाँस्छ उही निश्चल हाँसो। म मन मनै दङ्ग परेर उसैलाई हेरिदिन्छु एकटकले।
'तिमी त रमाइलो कुरा गर्दीरहेँछौ,  भेटेर खुशी लाग्यो।अब नाम सोध्ने हक त दिन्छ्यौ नै होला?' उसले कफीको चुस्की लिदैँ भन्यो।
'मेरो पनि एउटा खोजाईले पूर्णता पायो। अब आफ्नो खोजाई पुरा भए पछी खुशी नहुँने त को होला र होइन? जहाँसम्म नामको कुरा छ त्यो हक त तिमीलाई उहिलै देखि दिएकी छु। उसका चम्किला आँखामा आफ्ना आँखा जुधाउँदै भने।
मेरो कुरा कती बुझ्यो के बुझ्यो त्यो भेउ उसको अनुहारबाट पाउन सकिन। हात अगाडि बढाउदै उसले भन्यो-
 ' समीर।'
' रजनी' मैले उसको हातमा हात थमाउँदै भने।
''तिमी केही लेख्दै थियौ होइन अघी, मैले बिथोलिदिएँ माफि चाहन्छु।'' उसले उठ्ने तरखर गर्दै भन्यो।
'फेरी पनि यसैगरी बिथोल्न मन भए कहिले कहीँ यतै पस्नु। मैले हाँसेर जवाफ दिएँ।
''लेट सी, भन्दै ऊ उठ्यो। 'एउटा अविस्मरणीय भेटका लागि धन्यवाद, लौ त म हिँडे,कफी पिउँन साथ दियौ त्यसको लागि फेरी एक पटक धन्य भए। बाई, ह्याभ अ नाइस टाईम।''
'तिमिलाई पनि धन्यवाद, मेरो खोज पुरा गरिदिएकोमा अनि यो भेटघाट र साथको लागि बाई।'
ऊ फटाफट निस्केर गयो। सपना र बिपनाको दोसाधमा म निकै बेर हराई रहेँ।
                                                     ******                                                  
 ''धन्यवाद''
उसको बोलिले एक्कासी झस्किएँ। आफु कल्पनामा कहाँ सम्म डुबेछु भन्ने बोध पाएर आँफै सँग लाज लाग्यो। यो आवाज सायद अघी कफि पिउँनका लागि ठाउँ खोज्ने मनिसकै थियो। ऊ त्यहाँबाट गएर काउन्टरमा बिल तिर्दै थियो। म उसैलाई नियाल्दै थिएँ यो सोच्दै कि'बिचरा! यतिन्जेल म चुपचाप बसेको र उसले आफ्ना कुराको जवाफ नपाउँदा आफुलाई अपमानित ठान्दै मलाई के भन्ठान्यो होला? बिल तिरेर उसले पुन: एक दृष्‍टि म तिर फाल्यो। ऊ त्यहीँ थियो। मैले फरक्क फर्केर पारीपट्टीको फोटो नियाले र फेरी उसलाई नियाले, हो ऊ त्यहीँ थियो र उस्तै रहस्यमयी मुस्कान र एक जोडी चम्किला आँखाले मैलाई हेर्दै थियो।म नराम्ररी झस्किएँ।
                                                    ******
वास्तवमा रजनी झस्किदाँ त्यहीँ क्याफेको कुनामा ल्याप्पीमा उसै गरी घोरिरहेँकी थीइ जसरी सुरुमा। आफ्नो कल्पनाको उडान अवतरन भएको थाहा पाएपछी उसका आँखाले एक पटक क्याफे भरी फैलिएर उसलाई खोजेँ।तर त्यहाँ ऊ थिएन।  बिल तिर्दै गरेको मान्छे बिल तिरेर रजनीतिर हेर्दै बाहिरी सकेको थियो। तर अँह त्यो मान्छे ऊ थिएन। भर्खरै आफुले कल्पनामा त्यो मान्छेलाई ऊ ठानेको सम्झेर आँफै सँग खिसिक्क हाँसी र बाटोपारी नियाँली जहाँ रहस्यमयी मुस्कान सँगै एक जोडी चम्किला आँखा उसैलाई नियाल्दै थियो सधैं झैँ।

                                                                                                                        समाप्त !

स्कुटरवाली दिदी (भाग दुई)


'कालीमाटी' दिदीले एउटा सानो बसलाई ईशारा गर्नुभयो,त्यो दिन त अँध्यारोमा केही देखिन तर भोली पल्ट उज्यालोमा देख्दा त्यस्तो सानो बसलाई ट्याक्सी भनिने रहेँछ। ट्याक्सी हामीलाई बोकेर हुईकियो,सिसाभित्रै बाट दाँयाबायाँ नियालेँ। सडक छेउछाउमा मान्छेको लस्कर धेरै देखिन्थ्यो। हाम्रो गाउँको दिवाली पूजामा भन्दा पनि धेरै। ओहो! कहाँ कहाँबाट आएका होलान यतिका मान्छे,सबैले देखिसकेका रहेँछन यो काठमाडौँ,मै मात्र रहेँछु भर्खरै देख्ने। अरुले देखिसकेको पुरानो काठमाडौँ आफुले देख्न परेकोमा मलाई दिक्क लागेको थियो एक मन, देख्न पाएकी र अबका दिनमा यही बस्ने उत्साहले फुरुङ पनि। म सँगैका कती साथीले त अझै देख्न पाएका छैनन,बिचरा कतिको त गाउँतिरै बिहे भएको थियो दश कक्षाको पढाई सकिने बितिक्कै, तिनीहरुको दाजोँमा आफुलाई भाग्यमानी ठान्दै ढिलो काठमाडौँ देख्न पाएर निराश भएको मन बुझाउँदै थिएँ।अहिले थाहा भयो कि यहाँ दैनिक म जस्ता अरुले पहिलै देखीसकेको पुरानो काठमाडौँ भित्रिने थुप्रै छन आफ्ना नयाँ नयाँ सपना बोकेर। तर साँच्चै खै कुन्नी किन हो उतिबेला मलाई खुब नरमाईलो लागेको थियो। अहिले पनि एक्लै हाँस्छु त्यो दिन सम्झेर।
उज्यालो र ठुलो बाटो छोडेर ट्याक्सी कतै भित्री बाटोमा गूड्न थाल्यो र एकै छिनमा रोकियो पनि।दिदीले मै पट्टिको ढोका खोलिदिनु भयो पहिले र आफ्नो तिरको ढोका खोलेर निस्किनु भयो र ढ्याम्म ढोका लाईदिनु भयो, मैले पनि उस्तै गरेर ढोका हुत्याएर लाईदिएँ ;)। खै कुन्नी कती पो हो पैसा लिएर  त्यो ट्याक्सी पनि त्यहाँबाट हिड्यो हामीलाई छोडेर र एकैछिनमा अलप भयो जसरी अघी गाउँबाट यो काठमाडौँ सम्म ल्याएको बस हराए'थ्यो। त्यहीँ छेवैको घरको एक तलो माथि मेरी दिदी दुई वर्ष पहिले देखी बस्दै आएको कोठा जहाँ एकातिर खाट, अर्को कुनामा निगालोको अग्लो र्‍याक भरी किताबहरु,एकापट्टी छेउमा ग्याँस चुलो। सारा घर एउटा कोठामा सिमित।कती जिन्दगी होलान है यो काठमाडौँमा मेरी दिदी झैँ सानो कोठामा आफ्नो संसार बनाउने?
.............
जिन्दगीका कयौं बर्ष बिताउन गारो भए पनि त्यसलाई बिगत भईसकेपछी फर्लाङ्फर्लाङ पल्टाउन धेरै सजिलो हुँदो रहेँछ। काठमाडौँ आईपुगेको एक हप्ता नबित्दै म भित्रको उत्साह सेलाईसकेको थियो। दिदी दिनभरी स्कुल पढाउनु हुन्थ्यो भने साँझ क्याम्पस पढ्नुहुन्थ्यो र ८ बजेतिर मात्र आईपुग्नु हुन्थ्यो। गाउँमा स्वच्छन्द उडेकी मलाई यो शहर साघुँरो लाग्न थालिसकेको थियो। गाउँघर तिर रुख,पहाड,ढुङ्गा,माटाले समेत चिन्दथें,दुख सुखमा संगै हुन्थे,तर यो शहरमा मान्छेले मान्छे समेत नचिन्दों रहेँछ। म झोक्राएको देखेर दिदीले भन्नुभयो,'नानी, यो शहर तैले सोचेको जस्तो राम्रो र सजिलो छैन, आफ्नो मन अनी शहर प्रतिको सोचाईमा फरक ल्याउनु, एक दिन मलाई जस्तै तलाई पनि यो शहर बानी पर्छ तर मन भने कहिलै पर्दैन।' के कती बुझेर हो उतीखेर खुब एकहोरो भएकी थिए तर अहिले भर्खर भर्खर बुझ्दै छु दिदीका ती भनाइका अर्थहरु।
क्याम्पस जाने आउँने गर्न थाले पछी भने केही सहज बनेको थियो मेरो अवस्था। बिहानै छेवैको क्याम्पस पढ्न जान्थेँ। एक दुई दिन त साह्रै दिक्क लाग्यो त्यहाँ पनि। एकाध दिन पछी आफु अनुकुलका साथी भेटिदै गएपछी बिस्तारै बानी पर्न थाल्यो दिदीले भन्नुभए झैँ।बिहान क्याम्पसमा बिताए पनि दिनभरी भने म एक्लै नै हुन्थे। साँझ दिदी साह्रै थाकेर फर्कनु हुन्थ्यो तर पनि कहिलै झिजो मान्नुभएन। सबै कुरा बिस्तारै सम्झाउने र बुझाउने गर्नुभयो।छिट्टै यो शहरीया चलन सिकेँ र एक महिना बित्दा नबित्दै मैले दिदीलाई साँझ तरकारीको झोला बोकेर हतारिदैँ आईपुग्नबाट छुट्टी दिलाएँ।
नचाहेरै हामी यस संसारमा आईपुग्छौँ र मन नलाग्दा नलाग्दै हामी यहाँबाट जानुपर्ने हुन्छ। मात्र कहाँ,कहिले,कसरी भन्ने मात्र अनिश्चित बाँकी त अकाट्य सत्य न हो। दिनभरी घरै बस्ने हुँदा मैले आफु बस्ने घरभेटी र वरपरका केही स-साना स्कुले केटाकेटीलाई जम्मा पारेर दिनभरीको गृहकार्य गर्नमा सहयोग गर्थे,त्यसको बदलामा मैले केही पैसा पनि पाउँथे। क्याम्पस नजिकै थियो,क्यान्टिन कहिले पनि गईन, त्यसैले मैले गर्ने खर्च भनेको त्यहीँ तरकारी किन्ने र कपी,डट्पेन किन्ने मात्र थियो। त्यतीको लागि पनि दिदीसँग पैसा माग्नु नपर्दा र वहाँलाई केही हल्का होला भनेरै मैले केटाकेटी पढाउन निरन्तरता दिईरहेँ। दिदीबहिनी रमाएरै बसेका थियौ।
भन्छन नि भगवानले नदेखेको कहीँ अनी केही छैन। मैले बाह्र कक्षा सकिसकेकी थिएँ, दिदीले पनि एम.ए सम्मको पढाई पुरा गरिसक्नु भएको थियो। दिदीले स्कुल र मैले केटाकेटी पढाउने काम अझै चलिरहेंकै थियो। दिदीले भन्नुभए झैँ मलाई काठमाडौँ बानी पर्न थालिसकेको थियो,मन भने परेको थिएन। साउनकै महिना थियो सायद त्यो,एक दिन गाउँबाट आईपुग्नु भएको दाईले घरमा आमा बिरामी पर्नु भएको र गाउँको हेल्थपोस्टको औषधीले नछोएको खबर ल्याउनु भएको रहेँछ। एक हप्ताको लागि दिदीको स्कुल पनि बिदा थियो। दिदीले आफु गएर आमालाई संगै लिएर आउने र यतै अस्पातल लैजाने कुरा गर्नुभयो। म पनि जान्छु घर, दुई,तिन दिए क्याम्पस र केटाकेटीको पढाई छुटेँ पनि छुटोस भने तर वहाँले मन्नुभएन। बर्खाको बेला तँ किन जानु म गएर तुरुन्तै आमालाई लिएर आउँछु भनेर मलाई एक्लै यो निर्दयी शहरमा छोडेर जानुभएकी मेरी दिदी फेरी कहिलै यो शहरमा फर्केर आउनुभएन। मेरी दिदीमात्र यो काठमाडौँ फेरी फर्केर नआउने अरु पनि धेरै जना हुनुभएछ। बर्खाको त्रिशुलीले खै कुन्नी कहिलेको अनी के को बादलामा मेरी दिदी लियो मैले अझै बुझ्न सकेकी छैन। उसो त मलाई उतिबेला देखी त्यो बाटो हिंड्न नपरे हुन्थ्यो झै लाग्छ र पनि कहिलेकहीँ त्यै त्रिशुलीको किनारै किनार हिड्दाँ सधैं तेर्‍स्याउँछु 'ए! त्रिशुली तैलें कहिलेको अनी के को बदलामा मेरी दिदी मबाट खोसिस?' तर अँह केही जवाफ आउँदैन चुपचाप रहन्छ सधैं ।
जिन्दगी जसरी पनि बाँच्नु नै पर्दो रहेँछ। परिस्थितीको सामु पहिलो पटक नराम्ररी पछ्छारिएकी मलाई अन्तत: फेरी उठ्न कर लाग्यो थप् जिम्मेवारी लिएर। आफु लथालिङ भएर अब मैले बाँच्नु थिएन। बाबा आमा र सानो भाईको जिम्मेवारी मेरो काधँमा आईपुगेको थियो।दिदी रहुँन्जेल सधैं बालख बनेकी मलाई अब पनि बालखै बनिरहने अवसर थिएन।
 जिन्दगीले साँच्चै मेरो परिक्षा लिन लागे जस्तो लाग्दै थियो। सास पानी पुर्‍याई पुर्‍याई फेर्नुपर्ने र पाईलै पिच्छे पैसा खोज्ने यो शहरमा त्यती केटाकेटी पढाएको भरमा बाँच्नु त हुट्टिट्याउँले आकाश थाम्नु जस्तै थियो। बि.ए पढ्दै गरेकी मलाई जागिर पनि कस्ले दिन्थ्यो र? जहाँ जहाँ अप्लाई गरे पनि ४/५ वर्षको अनुभव खोज्दा रहेँछन! अब काम बिना पहिले नै अनुभव कहाँ बाट ल्याउन सक्थे र मैले। मेरा अप्ठ्याराहरु टाल्न मेरी आमाले प्यारो मुनेहरु बेच्दै हुनुहुन्थ्यो। जब मुने बेचिन थालियो कयौ रात सपनामा समेत मुनेहरुको निर्दोष आँखाले तर्साउन थाल्यो। बिउझेंर खुब रुन्थे पनि तर रुवाईमा समाधान त पक्कै थिएन। (धेरै भावुकता र अव्यक्त भाव अटेसमटेस थिए यतिबेला ती दिदी भित्र।)
...........
हजुर,हजुर मुनेहरु मलाई ज्यादै प्रिय लाग्छन। त्यसैले म शाकाहारी भएँ र छु। आफ्नो स्वादको लागि तिनको ज्यान लिएको मलाई मन परेन त्यसैले मैले बुझ्ने भए देखी नै म शाकाहारी छु। तर,मासु खानेहरु सँग पनि मलाई केही समस्या छैन। यस्ता कुराहरु भनेको ब्यक्तिगत कुरा हुन नि हैनन?
'हो' को भावमा उसको टाउको हल्लिन्छ।
केटाकेटी पढाउने बेला देखी नै मैले पोखरेल जी लाई चिनेकी थिएँ। सायद वहाँबाट मेरो वास्तविकता लुकेको थिएन। त्यस्तैमा एक दिन वहाँले मलाई भेट्न चाहेको खबर आफ्नो सानो छोरालाई पठाउनु,भयो। जो मैले पढाउने केटाकेटी मध्यकै एक हो। ऊ सँगै वहाँको घर पुगेँ। 'हेर नानी, तिमी अहिले कुन परिस्थितीमा छौ त्यो म बुझ्छु, तिम्री दिदी पनि हिम्मत नहार्ने केटी थीइन उसैकी बहिनी भए निस्कियौ तिमीले पनि हिम्मत हारिनौ र हार्न पनि हुँदैन। सप्ठ्यारो अप्ठ्यारो भनेको सधैं आउँछ।' एकाएकै वहाँबाट दिदीको प्रसँग सुनेर मन फेरी हुरुक्क भएर आयो तर बलैले रोके आसुँ भने। 'अब जागिरको हालत तिमीले बुझिनै सक्यौ, यहाँ आफ्नो मान्छे ओहोदामा नभई जागिर पाउनु भनेको मरुभुमिमा पानी पलाउनु जत्तिकै हो। हेला गरेको वा त्यस्तै अरु केही सोच्दिनौ भने आज म तिमीलाई एउटा सल्लाह दिन्छु,तीमीलाई जे ठीक लाग्छ स्वतन्त्र निर्णय गर्न सक्छ्यौँ।' वहाँबाट यस्ता कुरा सुन्दा यो निर्दयी शहरमा मन भएका मान्छे पनि हुँदा रहेँछन भन्ने जस्तो लागेको थियो पहिलो पटक।'मैले चिनेको एक जना बिदेशी साथी छ, ऊ सानेपा बस्छ। उसले साँझ,बिहानको भाँडा माझ्ने मान्छे खोजिदिनु भनेको छ मलाई। तिमीलाई पढ्न र बस्न पुग्ने खर्च पनि दे'ला।तिमी दिउस दिउस गएर भाँडा माझ्छेउ भने म तिमीलाई भोली नै लिएर जान्छु। अनी तिमीले यहाँका मान्छेले झै भाडाँ माझ्ने भनेर दुर्व्यवहार गर्लान भन्ने नसोच्नु। उनीहरु बिदेशी संस्कार भएका मान्छेहरु हुन। गरिखानेलाई नराम्रो सोच्दैनन। भन तिम्रो मन के छ?' आफ्नो परिस्थिती सँग म अन्जान थीइन,केही काम त मैले थाल्नु जरुरी भईसकेको थियो। त्यसैले वहाँलाई 'हुन्छ' भनिदिएँ।
भोलिपल्ट १२ बजे तिरै पोखरेल जी सँगै आफ्नो भाग्य लेख्न निस्किएँ। बुढाबुढी २ जना बस्दा रहेँछन। यु,एनका कर्मचारी रहेँछन। रमाईला र मिजासिला लाग्यो। बिहान क्याम्पस जानु पर्ने र साँझ केटाकेटी पढाउनु पर्ने भएकाले आफु दिउँस मात्र आउन सक्ने बाताए। उनीहरुले हुन्छ भने। अनी पढ्दै गरेको भन्ने थाहा पाएर बिशेष रुची पनि देखाए र केही किताबहरु पनि दिएँ। जिन्दगीले लिएका परिक्षाहरुमा अब आफु पास हुने सम्भावनाले चियाउन थालेको थियो। ती बिदेशी जोडीकैमा भाडाँ माझेर मैले बि.ए को पढाई सकेकी थिए। रहर त थियो अझै पढ्ने तर भाईलाई पढाउनु पर्ने जिम्मेवारी आएको थियो। भाईलाई ल्याएर क्याम्पस भर्ना गरिदिए। तिनै बिदेशीको सहयोगले सानेपामै अर्को एक ठाउँ र भैसेपाटीको दुईवटा घरमा मैले भाडाँ माझ्ने भएँ। थोरै थोरै बचेँको पैसा र नपुगेको आफुले हालिदिएर पछी बिस्तारै तिर्ने गरी पोखरेल जी कै सहयोगमा मैले यो स्कुटी किनें,र केही महिनामै मैले वहाँको पैसा फिर्ता गर्न सकेँ। अब कालिमाटीको कोठा, सानेपा र भैंसेपाटी यही स्कुटरमा धाउन थालेँ।परिस्थिती सहज बनेपछी पढ्ने रहर पुरा गर्न 'रातिको कक्षा लिने गरी क्याम्पस भर्ना भएँ। स्कुटरमा जाउआउँ गर्नाले खासै अप्ठ्यारो पनि परेन। भाई पनि राम्रै पढ्दै थियो। बाबाआमा खुशी हुनुहुन्थ्यो। पहिला पहिला मैले भाडाँ माझ्छु भन्दा खेरी ''बरु गाउँ फर्की'' पनि भन्नुहुन्थ्यो। तर मैले यो शहर सँग हार नखाने भने पछी त्यो पनि छोड्नु भयो।
..................
हो, अब मैले भाडाँ माझ्नु पर्ने बाध्यता छैन। म अरु थुप्रै काम गर्न सक्छु र गर्छु पनि तर जुन काम गरेर म आजको 'म' बन्न सकेँ त्यो कामलाई म कसरी अब छोड्न सक्छु र? यो त 'खोलो तरे'सी लौरो बिर्सिने' भन्ने जस्तो भईहाल्यो नि। त्यसैले त मैले सुरुमै भनेकी थिएँ कि अहिले भाडाँ माझ्नु मेरो बाध्यता होइन भनेर।
..........
छक्क लाग्यो रे हजुरलाई मेरो कुरा सुनेर? लौ,किन नि त्यस्तो?
................
ए, उसो भए त ठिकै छ। फेरी सम्झाएँ है त तपाईंलाई,मा गाउँमा जन्मिहुर्केकी गाउँले मिजास छ झुटो बोल्दिन भनेर। ठुलै अफिसमा काम गर्ने र आधुनिक जस्ती देखिए पनि मेरो वास्तविकता र मैले भोगेको बिगत मैसँग छ नि हैन? बिगतलाई बिर्सिएको अभिनय मात्र गर्न सकिने रहेँछ तर चटक्कै बिर्सन भने नसकिने रहेँछ।
अँ साँच्ची अब हजुर प्रस्ट भन्नुहोस् कि तपाईले चाहनु भएको जस्तो साथी म बन्न सक्ने रहेँछु कि छैन त? एउटा सम्पन्न र बैँकको म्यानेजर जस्तो मान्छेले भाडाँ माझ्ने केटी किन रोज्नु भयो?
......................
उसले हाँसेर खुसुसु खै कुन्नी के के भन्यो तर मैले मन मनै भने दिदी तपाईले यतिन्जेल जे जे भन्नु भयो त्यहीँ त्यहीँ कारणले यो मान्छे तपाईलाई चाहन्छ।काम पाईन भनेर या बाध्यताका नाउँमा गलत बाटो रोज्न पुगेका आजका कयौँ युवाले सिक्नुपर्छ तपाईबाट।
कफीको पैसा तिरेर ल्याप्पी झोलामा राख्दै फेरी एक पटक ती दिदीलाई आँखाभरी अनी मन भरी हेरेर क्याफेबाट निस्किएँ। बाटैभरी स्कुटरवाली दिदीप्रतीको श्रद्धाले झुकिरहेँ।
                                                                                                                समाप्त !

स्कुटरवाली दिदी (भाग एक)

कहिलेकहीँ दिक्क लाग्दा भनौँ या भागदौडको दैनिकीबाट छुटकारा पाउँन नजिकैको कुनै क्याफे पसेर कफी पिउँनु मेरो पुरानै बानी हो। अझ मनसुनी झरीमा कफी पिउँन बिशेष प्रकारले आकर्षित हुन्छु, क्याफेको कुनामा चुपचाप बसेर कफी पिउँदै वरपरको बातावरण नियाल्नु प्राय: दैनिकीको नछुट्ने पाटो हो। आज पनि अलिअली पानी परेकोले कफीको नियास्रो लागेकै छ। क्लास छिट्टै सकिएकोले र बाहिर खास केही काम पनि नभएकाले घर जानु भन्दा अघी नियमित जाने गरेको नाङ्लो क्याफे तिर हानिए।साँझ पर्न आँटिसकेको र झरीको दिन भएकाले होला क्याफे प्राय: भरिएकै देखिन्थ्यो। भुँई तलामा अलिक धेरै मान्छे भए जस्तो लागेर माथिल्लो तलामा उक्लिएँ। पर्तिर कुनाको एउटा टेबुल खाली रहेछ सोझै उतै लागेँ। मान्छेहरु कोही तात्तातो म:म, कोही फ्रेन्च फ्राई र कोही कफी सँगै आ-आफ्नै गफको धुनमा मस्त थिएँ। परिचित भाईले हाँस्दै स्वागत गर्‍यो र मेनु बढायो, मेनु उसैलाई फर्काउदै ब्ल्याक कफी को ईशारा गरेँ र ब्यागबाट ल्याप्पी निकाले,फ्री वाईफाईको सुबिधाबाट किन बन्चित हुने हैन? सोच्दै र आँफै सँग हाँस्दै!  :)
टुईटर,फेसबुक,ब्लग,स्काईप लगायतका सामाजिक साईट र म्यासेन्जरहरु धमाधम खुल्न थाले ल्याप्पी सँगै। च्याटमा एक दुई साथीहरु रहेँछन तर कुरा गर्न मन लागेन र मिनिमाईज गरेर छोडें। नयाँ केही ब्लग पोस्टहरु आएका रहेँछन भरे घरमा गएर पढुला भन्दै तिनलाई पनि थन्क्याएँ। फेसबुक छोडेर टुईटरमा रमाउन थालेको धेरै भईसके पनि फेसबुकलाई माया भने मार्न सकेकी थीइन, गाउँले दाईको म्यासेज आएको रहेँछ। पारिवारिक अवस्थाले गर्दा बिदेशिनुभएको वहाँलाई गाउँको खबर,सञ्चो बिसन्चो सँगै असारे माटोको सुगन्ध मिसाएर म्यासेजको रिप्लाई दिएँ र टुईटर छिरेँ। टुईटे साथी/दाजु/दिदीहरु आ-आफ्नै पाटो र बिषयतिर अल्झेकै हुनुहुन्थ्यो खर्खर्ती हेरे। टुईटरमा भन्दा पनि आफु भन्दा ठीक अघिल्लो टेवलमा बसेकी एउटी दिदीको कुराले ध्यान खिच्दै थियो। त्यसैले टुईटर त्यतिकै छोडेर ती दिदिको कुरा सुन्न थाले आफ्नै धुनमा। उनको अघिल्लो तिर बसेको एउटा अधबैसेँ मान्छे के के सोध्दै थियो खुसुसु...। खुसुसु यसर्थ कि उसले बोलेको गुनगुन मात्र सुन्थे तर उती कुराको भेउ पाउँदिन थिएँ तर ती दिदी भने अलिक ठुलै स्वरले बोल्दै हुनुहुन्थ्यो। उनको कुरा म राम्रै सुन्न सक्थे,र सुन्न थालें।
.............
हेर्नुहोस्,मलाई बढाईचढाई गर्न फिटिक्कै आउँदैन। अनी भित्र एउटा र बाहिए अर्को कुरा गर्ने मान्छे मन पनि पर्दैन। गाउँमा हुर्किएकी हुँ,त्यसैले गाउँले मिजास छ झुटोलाई झुटो र सत्यलाई सत्य भन्न मलाई कसैसँग डर लाग्दैन। तपाईंलाई पोखरेल जी ले मेरो बारेमा के भन्नु भएको छ त्यो म जान्दिन। म जे छु तपाईंको सामुन्ने छु। तपाई पनि आफ्ना कुरा निर्धक्क मेरो सामु राख्न सक्नुहुन्छ, चित्त नबुझेको कुरा अहिलै छलफल गर्न सकिन्छ,ताकी भोली गएर यो भएन त्यो भएन को स्थिती नआओस।
............
मैले भाडाँ माझ्छु भन्दा तपाईले पत्याउनु भएन रे! हो तपाईले झैँ  धेरैले पत्याउदैनन।हुन पनि कसरी पत्याउँन त है,आधुनिक पोशाकमा सजिएर स्कुटर चडेर जो हिड्छु। आज सम्म भाडाँ माझ्ने भनेको दुईछाक टार्न पनि धौ धौ हुनेले हो भन्ने मान्यताले अझै कहाँ छोडेको छ र हाम्रो समाजलाई! त्यसैले पत्यार नगर्नुलाई म नौलो मान्दिन। तर अब पत्त्यार गर्नुहोस् कि मेरो रोजिरोटी भनेको त्यै हो। त्यै कमाईबाट मैले आफ्ना आवश्यकताहरु पुरा गरेकी छु,गाउँमा मेरा बा'आमालाई नुन तेल खर्च पुगनपुग हेरेकी छु, भाईलाई यहिं आँफै सँग राखेर पढाउँदै छु।
.............(गुनगुने स्वरमा केही भन्दै गरेको त्यो व्यक्त्ती थोरै हाँसेको पनि देखिन्छ।)
हो हो, सहि अनुमान गर्नु भयो तपाईले। स्कुटर मैले भाडाँ माझेर जम्मा गरेको रुपयाँले किनेकी हुँ। तपाई सोच्नु होला कि भाँडा माझेर कसरी तेत्रो स्कुटर किन्न सकिन्छ? एक हिसाबले तपाईको अड्कल पनि ठिकै हो। तर एउटा कुरा के स्पष्ट हुनुहोस् भनेअहिले सम्म तपाई अनी अरुले सोचे जस्तो भाडाँ माझ्नेमा म पर्दिन। यसलाई यसरी बुझ्नुहोस् कि मैले भाडाँ माझ्नुलाई बाध्यता नभई आफ्नो प्रोफेसन बनाएँ। यो मेरो रोजाई हो बाध्यता होइन।
...........
ल हुन्छ कि किन नहुँनु, म तपाईलाई कसरी म यहाँ सम्म आईपुगे सबै बेलिबिस्तार लगाउँला, धैर्य चै चाहिन्छ है सुन्नलाई हुन्छ?
....स्वीकारोक्त्ती स्वरुप हल्का हाँसो र मुन्टो हल्लाएको देखिन्छ ।
म मेरा बाआमाकी कान्छी छोरी, मेरी एउटी दिदी हुनुहुन्छ र एउटा भाई छ। थुप्रै सपनाहरु बोकेर एस.एल.सि पास भएको वर्ष आज भन्दा दश वर्ष पहिले २०५८ सालको साउन महिनाको एक दिन भुकभुके उज्यालो मै  मेरी दिदी सँग पहिलो पटक काठमान्डौ आएकी थिएँ। हिंड्ने बेलामा आमाले ''राम्रो पढ्नु नानी'' भन्दै रातो टिका लगाएर हातमा दक्षिणा र एउटा नासपाती राखिदिनु भएको थियो। गाउँ छोड्नुको नमिठोपना र शहर पस्ने उत्साह एक साथ थियो। गाउँको सिरानमा हाम्रो घर भएकाले दाँयाबाँयाका घरहरु सँग सेपिएर उधोँ झरेको बाटो हिड्दाँ गाउँका भाउजु ठुल्यामा सानीमाहरु 'ए कान्छी पनि पढ्न हिंडेकी काठमान्डौ' भन्दा म खिसिक्क हाँसेर मन मनै गमक्क पर्थे।  दिदी भने के के कुरा गरिरहनु हुन्थ्यो उहाँहरु सँग। मलाई त्यो बेला असाध्यै झिजो लागेको थियो दिदी त्यसरी कुरामा अल्मलिएर नहिडेंको देख्दा। सायद काठमान्डौ पुग्ने हतारो थियो क्यारे म भित्र उतिबेला।
     घरबाट त्यस्तै ५ घण्टा जती पैदल हिंडेँपछी बस चड्ने ठाउँमा आईपुग्यौ। त्यहाँ सम्म त पहिले पनि आएकै थिएँ यात्रा नौलो थिएन। तर जब बसको यात्रा सुरु भयो अनी सुरु भए नौला यात्राका लहरहरु। मलाई जोडले भोक लाग्दै थियो। आमाले बिहान दिनुभएको नासपाती उहिल्यै खाईसकेकी थिएँ। दिदीले मलाई भोक लागेको थाहा पाउँनु भएछ क्यारे,मान्छे उकाल्न बस रोकेको ठाउँ छेवैको पसलबाट एक प्याकेट चाउचाउ किनेर दिनुभयो। गरमगरम एक प्याकेट चाउचाउ चपाएर बिहानै दिदीले झोलामा हाल्दिनुभएको बोतलको पानी खाए पछी भने आफुलाई केही सहज महशुस गरेकी थिएँ र झ्यालबाट बहिर नियाल्न थालेँ।
९ घण्टा जतिको बस यात्रा छिचोल्दै झमक्क साँझ परेपछी केही अग्लो डाँडो जस्तोमा आएर बस रोकियो। एक हुल पुलिसहरु हुरुरु बस भित्र पसे र सबैका झोला खोतल्न थाले। अज्ञात डरले घम्लङै छोप्यो र दिदी सँग टाँसिए। हाम्रो झोला पनि खोतलखातल पारेर पछाडिको सिट तिर हान्निए तिनीहरु र एकै छिनमा फेरी अघी झै गुरुरु बहिर निस्किए,बस फेरी हिड्यो। आबुई! अली पर्तिर र अझै पर पर सम्म बत्ती नै बत्ती पो देखियो त। तिहारमा बालेको दियो जस्ता साना अनी ठुला, राता,पहेँला,निला कती कती। पहिलो पटक देख्दै थिएँ यो सबै। दिदीले भन्नुभयो 'काठमान्डौ त्यै हो, अब धेरै टाढा छैन।' ऊ भन्दा ऊ छिटो गरी कुदेका बसहरु सँगै हामी चडेको बस पनि कहिले अघी र कहिले पछी हुँदै कुदिरह्यो।तर पनि मेरो मनको गती भन्दा बसको गती ढिलो भए झैँ लागिरह्यो। केहीबेरमै 'ल कलंकी झर्नुहोस्' भन्दै खलासीले ढोका खोल्यो। दिदीले झोला बोक्ने तरखर गर्नु भयो मैले बुझें अब हामी काठमान्डौ आईपुगेछौ। आफ्नो भागको सानो झोला झुन्ड्याउँदै दिदीको पछी लागेँ। बसले हामीलाई त्यही छोडेर उतिन्खेरै अलप भयो। मनमनै आँफैलाई भने 'तँ काठमान्डौ आईपुगिस्, आजैबाट सुरु भयो तेरो यहाँको बसाई', मसक्क मुठ्ठी कसेँ र आँफैलाई दरो बनाएँ।
                                                                              क्रमश: