रजनी


झरीले रुझेको रात अल्छि मान्दै हिडिँसकेको छ र कलिलो घाम झ्यालबाट छिरेर रजनीलाई ओछ्यानमै भेट्न आईपुगेको छ। शनिबार छुट्टीको दिन,अन्य दिन पाँच बज्दा नबज्दै उठेर क्याम्पस दौडने ऊ आज आठ बजिसक्दा पनि अल्छि मान्दै सुतिरहेकी छे। ओहो!सानीमाले आजै पो बोलाउनु भएको हो त है,खानै खाने गरी आईज भनेर 'भएन अब'लामो हाई काढ्दै उठेर बाथरुम छिर्छे। फ्रेस भएर काफी पिउँदै झ्यालबाट रातभरीको झरीले सिनित्त पखालेको वरपरको सडक र खेत नियाल्छे। मनसुनको बेला न हो कतिबेला घाम कतिबेला पानी के भरोसा? भर्खरै लागेको घामको अगाडि ढप्प आएर कालो बादल बसिदिन्छ र अहिलै पानी परिहाल्ला झै देखिन्छ। हरियो भएको असारे धानको फाँट तिर हेरेर खै कुन्नी कुन दुनियाँमा हराउन पुग्छे ऊ पनि। सायद हिजो साँझ देखिकै होला अलपत्र सँग ओछ्यानकै कतै कुनामा परेको उसको मोबाईल एक्कासी बज्न थाल्छ 'ये क्या हुवा तेरे मेरे प्यार कि बाते क्युँ दुनियाँकी नजोरेमेँ आगई.............' हतारिदै मोबाईल खोजेर हेर्छे सानीमाको फोन रहेँछ।
...........
'हजुर, म निस्किनै लागेँ  अब एकैछिनमा आईपुग्छु।'
.......
'हस, हस हुन्छ।'
सानीमाको घरबाट एकाध घण्टामा निस्किएर कतै नजिकैको क्याफे छिरेर आजको दिन बिताउन लक्ष्य बनाउछे। पाँच\छ दिन सम्म अफिस आउँजाउँ मै ठीक्क दाँयाबाँया हेर्ने फुर्सद सम्म हुँदैँन उसलाई। कफी सकेर किताबको र्‍याक,सानो टेबुल अनी झ्यालका सिसाको धुलो झारेर यताउता छरिएका किताब टिपेर र्‍याकमा राख्दै आफ्नो सानो कोठा चिट्ट पार्छे। हतार हतार लुगा फेरेर झ्यालबाट बाहिर नियाल्छे,पानी पर्न ठीक्क परेको देखेर एउटा ज्याकेट पनि बोकी ल्याप्पी छोड्ने त कुरै भएर त्यो त उसको सबै भन्दा नजिकको प्रिय साथी अनि उसको सर्वस्व नै हो। स्कुटर निकालेर क्षणभरमै त्यहाँबाट अलप भई।
आफन्त अनी परिवार सँग झ्याम्मिन रजनीलाई रहर छैन।आफ्नै दुनियाँमा हराउन,आफ्ना अनुभुती,कल्पना र भावुकतालाई शब्दमा बानबुन पार्नमै रमाउछे ऊ। बिहानको समय क्याम्पस र दिउसको समय आफ्नो आवश्यकता पूर्तीका लागि आवश्यक खर्च जुटाउन कुनै निजी अफिस धाउनुमै उसको आईतबार देखी शुक्रबार बित्छ। बिदाका दिन र शनिबार ऊ एकाध घण्टाकै लागि भए पनि आफुलाई मन पर्ने कुनै क्याफे वा पार्क तिर बिताउछे र मौका मिल्ना साथ खररर आफ्ना औँलाहरु घोडा झैँ किबोर्डमा दौडाएर शब्दको बिउ पनि छरिहाल्छे। उसो त आज पनि सानीमाको अग्रह टार्न नसकेर अनी टारेको खण्डमा घरबाट आमाले फोनमा सुनाउने गुनासो बाट जोगिन मात्र ऊ गएकी छे त्यहाँ।
'सानीमा अफिसमा क्लोजिङ चलिरहेँको छ,आज पनि एक बजे तिर सबैलाई बोलाएको छ,त्यसैले म अहिले जान्छु फेरी आउँछु नि है फुर्सदमा' त्यहाँबाट उम्कने दाउ खोज्दै रजनी बाहाना बनाउँछे।'लौ त लौ छोरी, उसो त तँ झुक्किएरै मात्र आउछेस् आईस भने पनि फुर्सद  तँलाई कहिलै भएन,काम नगरि पनि जीवन धान्न गाह्रो काम गर्‍यो यी यै चाल हुन्छ बिदाको दिन सम्म फुर्सद पाईन्न।लौ जा नानी फेरी आउनु है फुर्सद मिले सम्म।'  ''हस'' भन्दै आफ्नो झुठ सम्झेर मन मनै खितितित्त हाँस्छे र  हिँड्छे। एक मन उसलाई नराम्रो पनि लाग्छ तर आईपुग्न लागेको माईतिघर चोकले उसको त्यो मन तुरुन्तै फेरिदिन्छ।
रजनीका आँखा उत्साहित हुन्छन उसलाई देख्न। शनिबार भएकोले बाटोमा अरु दिन जस्तो ट्राफिक पनि हुँदैँन। फनक्क दाँया घुमेर स्कुटरलाई पार्किङमा हाली र त्यहीँको क्याफेमा छिरी। उसो त रजनीलाई यो क्याफे त्यती मन पर्दैन तर पनि उसलाई हेर्ने आफ्नो मन मार्न ऊ कहिलै सक्दिन र प्राय: जसो आउछे। बिदाको दिन भएकाले होला केही प्रेमिल जोडीहरु पनि कफी पिउने बाहानामा त्यतै अल्मलिरहेका छन। बाटो पट्टी फर्किएको कुनाको एउटा टेबुल खाली देखेर रजनी भोको बाघले सिकार झम्टे झैँ त्यहाँ पुग्छे। बसिसकेर उसलाई नियाल्न खोज्छे ऊ पहिलै देखि उसैलाई हेरिरहेँको झै लाग्छ। रजनीको अनुहार भरी लाज र चन्चलता एकै साथ पोखिन्छ। कसैले आफ्नो बद्लिएको रुप देख्यो कि भनेर चोर आँखाले दाँयाबाँया हेर्छे तर सबै आ-आफ्नै धुनमा देख्दा फेरी उसैलाई हेर्दै रहस्यमयी हाँसो हाँस्छे र कफिको अडर गर्छे। ल्याप्पी अन गरेर उन्मुक्त्त घोडाहरु झैँ आफ्ना औंलाहरुलाई किबोर्डमा दगुराउँछे।
                                                        ******
''बाहिर सिमसिम पानी पर्न थालिसकेको छ। सधैं सुन्दर लाग्ने उसको आकृती पानीले भिजेको बेला अझै मनमोहक बनिदिन्छ। ऊ को हो? भन्ने मैले चिनेकी छैन अनि चिन्ने बाटो पनि छैन। उसलाई मैले बिगत पाँच\छ महिना पहिले देखि नै यो मोडमा देख्दै आएकी हुँ। स्कुटर बनाउन दिएर माईक्रोको यात्रा गर्दा अनायासै उसको आकृतीमा मेरा आँखाहरु ठोक्किएका थिए,सायद यहीँ माईतीघर नजिकै भर्खरै खुलेको कुनै नयाँ कलेजको बिज्ञापनमा थियो ऊ। श्यामश्वेत वर्णको उसको फोटोका साथमा ब्रिटिश डिग्रीका साथै अरु खै के के लेखिएको थियो। जब जब उसलाई नियाल्छु उसका आँखा पनि मै तर्फ नियाल्दै गरे झैँ लाग्छ।जब उसलाई मैले पहिलो दिन देखेकी थिएँ कता कता देखे जस्तो,चिने जस्तो,टाढिएको आफन्त लामो समय पछी पुन: भेटे जस्तो महशुस गरेकी थिएँ। उसका एक जोडी चम्किला आँखाहरुले मलाई हुरुक्कै पार्थ्यो। जब जब म माईतीघरको यो मोडमा आईपुग्छु तब मनमा एक खाले चन्चलताको बोध हुने गर्छ। उसलाई जती नियाले पनि यी आँखाका रहर पुग्दैनन। म फेरी टोलाउन थाल्छु।
क्याफेमा कोही पसेको आभाष पाउँछु तर मलाई मुन्टो उठाएर त्यता हेर्ने रहर लाग्दैन अझ भनुँ उसको कल्पनामा डुबिसकेकी मलाई फेरी तैरने रहर हुँदैन। 'एस्क्युज मी, म यहाँ बस्न सक्छु?' सारा क्याफेमा तैले मै छेउ मात्र खाली ठाउँ देखिस्, मन मनै भुतभुताउँछु। ''हजुर'' फेरी उसैको बोली सुनेँ। हैन अझै यहीँ र'छ त यो मान्छे नबोली बसेपछी त जानु नि अन्तै कत्ती न म उसैलाई कुरेर बसेकी झैँ पो गर्छ त! भुतभुताउँछु फेरी एक पल्ट आँफै सँग र 'हुन्छ बस्नुहोस्' ऊ तर्फ नहेरी बोलिदिन्छु।
''कथा, उपन्यास केही लेख्दै हुनुहुन्छ कि जस्तो छ नि, कतै मेरो उपस्थितिले डिस्टर्ब त भएन तपाईलाई? कफी पिउँ भनेर पसेको अन्त खाली रहेनछ। मै आईपुगेँ हजुरलाई अल्झाउन।''
उसको उपस्थितिले मेरो कल्पना भताभुङ हुने स्थिती त आईसकेको छैन। हैन, त्यस्तो केही भएको छैन भनेर ल्याप्पी आफु तिर तान्छु। यो मान्छे बसेको ठाउँमा उसलाई बसिरहेँको देख्न आतुरिन्छन आँखाहरु तर यस्तो कसरी होला र?लामो सास तान्छु र कफी पिउँन थाल्छु।
                                                      ******
झरीको एक साँझ म सधैं झैँ आफ्नो प्रिय क्यापुचिनोको साथमा क्याफेको एक कुना ओगटेर बसेकी छु। सधैं झै मेरो साथमा मेरो सर्वस्व(ल्याप्पी) पनि छ।आज पनि म उसकै कल्पनामा केही शब्दहरु बानबुन पार्ने सुर कस्दै छु। त्यतिकैमा क्याफेमा कोही पसेको आवाज आउँछ। कल्पनामा नहराईसकेकी म आगन्तुक तर्फ मोडिन्छु। ओहो !! मेरो आश्चर्यको सिमा रहदैँन। सपना र बिपनाको भेद छुट्याउन आँखा मिच्छु। के को सपना हुन्थ्यो बिपनैमा रहेँछु। लौ न ऊ त झन मै तिर पो आउँदै छ त! मलाई उकुसमुकुस हुन थाल्छ। जुरुक्क उठेर त्यहाँबाट भागुँ झैँ पनि लाग्छ तर त्यसो गरिहाल्न भ्याउँदिन। क्याफे प्राय: भरिएकै देखिन्थ्यो। ''एक्स्क्युज मी, क्यान आई सिट हियर?''उही परिचित र रहस्यमयी मुस्कान छर्दै ऊ बोल्छ। म ट्वाल्ल परेर उसको मुख हेरिरहन्छु। केही जवाफ नपाए पछी ऊ पनि अलमल्लमा पर्छ।
''एई किन त्यसरी टोलाएकी हुँ?'' उसले एक्कासी मेरा कुममा हात राखेर झकझक्याए पछी पो बल्ल यथार्थमा ओर्लन्छु म।
खिस्स हाँसेर 'बस्' भने र ल्याप्पी आफु नजिक ताने।
''किन हेरेको हेर्यै गरेकी तिमीले, किन म अचम्म लाग्दो देखिएको छु र?'' उसले फेरी त्यहीँ जादुमय मुस्कानमा आफ्ना चम्किला आँखा नचाउँदै बोल्यो।
परिचितलाई झै पहिलो पटक मै उसले सम्बोधन गरेको ''तिमी''ज्यादै प्रिय लाग्छ। मन मनै दङ्ग पर्छु। बेग्लै दुनियाँमा पुगेको भान पर्छ मलाई। 'त्यस्तो केही होईन त्यतिकै, फोटोमा झैँ दुरुस्तैदेखियौ त्यसैले छक्क परेकी' थाहै नपाई बोलेछु।आफुले भनेको कुरा सम्झेर मन मनै आँफै सँग मुर्मुरिए कत्ती न फोटोमा हेर्ने गरेको कुरा सुनाईहाल्नु परेको तँलाई।
''कहाँ देख्यौ मलाई तिमीले'' उसले फेरी प्रश्नको झटारोले हिर्क्यायो मलाई।
उसका प्रश्नको जवाफ दिने क्रममा भर्खरै चाहिने भन्दा बढी भनेकी थिएँ। त्यसैले यस पटक मन बाँध्दै भने त्यहीँ 'माईतीघर चोकमा।'
जवाफमा ऊ हाँस्छ मात्रै। मलाई राम्रो लाग्छ ऊ हाँसेको त्यसैले हेरिरहन्छु।
''अनि यसरी एक्लै एक्लै क्याफेमा? कि कसैको पर्खाइमा थियौ?'' उसले आँखा जुधाउँदै फेरी म तिर प्रश्न फाल्यो।
'अँ पर्खाईनै भने पनि फरक नपर्ला अबलाई किनकी तिमी जो सामुन्ने छौ।' उसै गरी मैले पनि रहस्यमयी तर वास्तविक जवाफ दिन्छु। साँच्चै भन्ने हो भने म चाहन्थे कि कहीँ कतै म उसलाई देखुँ त्यसैले सधैं मेरा आँखाहरु एक खोजिमा लाग्थे तर फेरी निराश हुन्थे तर आज यी आँखाले खोज्नै नपरी खोजाई पूर्ण भएको थियो।
मेरो कुराले उसलाई घत परेछ ऊ मज्जैले हाँस्छ उही निश्चल हाँसो। म मन मनै दङ्ग परेर उसैलाई हेरिदिन्छु एकटकले।
'तिमी त रमाइलो कुरा गर्दीरहेँछौ,  भेटेर खुशी लाग्यो।अब नाम सोध्ने हक त दिन्छ्यौ नै होला?' उसले कफीको चुस्की लिदैँ भन्यो।
'मेरो पनि एउटा खोजाईले पूर्णता पायो। अब आफ्नो खोजाई पुरा भए पछी खुशी नहुँने त को होला र होइन? जहाँसम्म नामको कुरा छ त्यो हक त तिमीलाई उहिलै देखि दिएकी छु। उसका चम्किला आँखामा आफ्ना आँखा जुधाउँदै भने।
मेरो कुरा कती बुझ्यो के बुझ्यो त्यो भेउ उसको अनुहारबाट पाउन सकिन। हात अगाडि बढाउदै उसले भन्यो-
 ' समीर।'
' रजनी' मैले उसको हातमा हात थमाउँदै भने।
''तिमी केही लेख्दै थियौ होइन अघी, मैले बिथोलिदिएँ माफि चाहन्छु।'' उसले उठ्ने तरखर गर्दै भन्यो।
'फेरी पनि यसैगरी बिथोल्न मन भए कहिले कहीँ यतै पस्नु। मैले हाँसेर जवाफ दिएँ।
''लेट सी, भन्दै ऊ उठ्यो। 'एउटा अविस्मरणीय भेटका लागि धन्यवाद, लौ त म हिँडे,कफी पिउँन साथ दियौ त्यसको लागि फेरी एक पटक धन्य भए। बाई, ह्याभ अ नाइस टाईम।''
'तिमिलाई पनि धन्यवाद, मेरो खोज पुरा गरिदिएकोमा अनि यो भेटघाट र साथको लागि बाई।'
ऊ फटाफट निस्केर गयो। सपना र बिपनाको दोसाधमा म निकै बेर हराई रहेँ।
                                                     ******                                                  
 ''धन्यवाद''
उसको बोलिले एक्कासी झस्किएँ। आफु कल्पनामा कहाँ सम्म डुबेछु भन्ने बोध पाएर आँफै सँग लाज लाग्यो। यो आवाज सायद अघी कफि पिउँनका लागि ठाउँ खोज्ने मनिसकै थियो। ऊ त्यहाँबाट गएर काउन्टरमा बिल तिर्दै थियो। म उसैलाई नियाल्दै थिएँ यो सोच्दै कि'बिचरा! यतिन्जेल म चुपचाप बसेको र उसले आफ्ना कुराको जवाफ नपाउँदा आफुलाई अपमानित ठान्दै मलाई के भन्ठान्यो होला? बिल तिरेर उसले पुन: एक दृष्‍टि म तिर फाल्यो। ऊ त्यहीँ थियो। मैले फरक्क फर्केर पारीपट्टीको फोटो नियाले र फेरी उसलाई नियाले, हो ऊ त्यहीँ थियो र उस्तै रहस्यमयी मुस्कान र एक जोडी चम्किला आँखाले मैलाई हेर्दै थियो।म नराम्ररी झस्किएँ।
                                                    ******
वास्तवमा रजनी झस्किदाँ त्यहीँ क्याफेको कुनामा ल्याप्पीमा उसै गरी घोरिरहेँकी थीइ जसरी सुरुमा। आफ्नो कल्पनाको उडान अवतरन भएको थाहा पाएपछी उसका आँखाले एक पटक क्याफे भरी फैलिएर उसलाई खोजेँ।तर त्यहाँ ऊ थिएन।  बिल तिर्दै गरेको मान्छे बिल तिरेर रजनीतिर हेर्दै बाहिरी सकेको थियो। तर अँह त्यो मान्छे ऊ थिएन। भर्खरै आफुले कल्पनामा त्यो मान्छेलाई ऊ ठानेको सम्झेर आँफै सँग खिसिक्क हाँसी र बाटोपारी नियाँली जहाँ रहस्यमयी मुस्कान सँगै एक जोडी चम्किला आँखा उसैलाई नियाल्दै थियो सधैं झैँ।

                                                                                                                        समाप्त !

7 comments:

  1. यी रजनी, यही शहरको यताउता...क्याफेतिर भेटिने आम रजनी; अहिलेसम्म 'नोटिस' भएको थिएन, अब शायद कोही त्यसै गरी क्याफेको कुनामा एक्लै ल्याप्पीसँग हुनेलाई 'रजनी' नै भनीदिउला, नाम जे सुकै होस ! :P भन्यंकर घटनाक्रम नभएपनि, अभिब्यक्ती सुन्दर छ !

    ReplyDelete
  2. फेरी नाम नमिलेर अप्ठ्यारोमा परिएला बरु एक पल्ट नामै सोधिदिने कि ? धन्यवाद। :)

    ReplyDelete
  3. रमाईलो लाग्यो सुरुमा नमेले जस्तो लागे थ्यो पछि कता कता मिलेछ कथा, तर हल्का फिल्मि पाराको । जे होस धेरै राम्रो छ ।

    ReplyDelete
  4. धन्यवाद दादा :)

    ReplyDelete
  5. सुरुमा बुझ्न गार्हो हुन्छकी भन्ने लागे पनी बिचतीर बाट त् सार्ह चाखलाग्दो भएछ,,,, ़यदि कहीं कतै यो सहरको कुनै क्याफेमा कफि पिउन पुग्दा ल्याप्पी सँगै बसीरहेको एक्ली केटीलाई देखीएछ भने दिदि हजुरकोपात्र ( रजनी) लाई सम्झीइने छ।।।।।

    ReplyDelete
  6. कतै क्यफे तिर कोइ लेडि ल्यापी सँग बिजिदेखियो भने रजनिको याद न आए पनि सुमी को पकै आउने छ.

    ReplyDelete