स्कुटरवाली दिदी (भाग एक)

कहिलेकहीँ दिक्क लाग्दा भनौँ या भागदौडको दैनिकीबाट छुटकारा पाउँन नजिकैको कुनै क्याफे पसेर कफी पिउँनु मेरो पुरानै बानी हो। अझ मनसुनी झरीमा कफी पिउँन बिशेष प्रकारले आकर्षित हुन्छु, क्याफेको कुनामा चुपचाप बसेर कफी पिउँदै वरपरको बातावरण नियाल्नु प्राय: दैनिकीको नछुट्ने पाटो हो। आज पनि अलिअली पानी परेकोले कफीको नियास्रो लागेकै छ। क्लास छिट्टै सकिएकोले र बाहिर खास केही काम पनि नभएकाले घर जानु भन्दा अघी नियमित जाने गरेको नाङ्लो क्याफे तिर हानिए।साँझ पर्न आँटिसकेको र झरीको दिन भएकाले होला क्याफे प्राय: भरिएकै देखिन्थ्यो। भुँई तलामा अलिक धेरै मान्छे भए जस्तो लागेर माथिल्लो तलामा उक्लिएँ। पर्तिर कुनाको एउटा टेबुल खाली रहेछ सोझै उतै लागेँ। मान्छेहरु कोही तात्तातो म:म, कोही फ्रेन्च फ्राई र कोही कफी सँगै आ-आफ्नै गफको धुनमा मस्त थिएँ। परिचित भाईले हाँस्दै स्वागत गर्‍यो र मेनु बढायो, मेनु उसैलाई फर्काउदै ब्ल्याक कफी को ईशारा गरेँ र ब्यागबाट ल्याप्पी निकाले,फ्री वाईफाईको सुबिधाबाट किन बन्चित हुने हैन? सोच्दै र आँफै सँग हाँस्दै!  :)
टुईटर,फेसबुक,ब्लग,स्काईप लगायतका सामाजिक साईट र म्यासेन्जरहरु धमाधम खुल्न थाले ल्याप्पी सँगै। च्याटमा एक दुई साथीहरु रहेँछन तर कुरा गर्न मन लागेन र मिनिमाईज गरेर छोडें। नयाँ केही ब्लग पोस्टहरु आएका रहेँछन भरे घरमा गएर पढुला भन्दै तिनलाई पनि थन्क्याएँ। फेसबुक छोडेर टुईटरमा रमाउन थालेको धेरै भईसके पनि फेसबुकलाई माया भने मार्न सकेकी थीइन, गाउँले दाईको म्यासेज आएको रहेँछ। पारिवारिक अवस्थाले गर्दा बिदेशिनुभएको वहाँलाई गाउँको खबर,सञ्चो बिसन्चो सँगै असारे माटोको सुगन्ध मिसाएर म्यासेजको रिप्लाई दिएँ र टुईटर छिरेँ। टुईटे साथी/दाजु/दिदीहरु आ-आफ्नै पाटो र बिषयतिर अल्झेकै हुनुहुन्थ्यो खर्खर्ती हेरे। टुईटरमा भन्दा पनि आफु भन्दा ठीक अघिल्लो टेवलमा बसेकी एउटी दिदीको कुराले ध्यान खिच्दै थियो। त्यसैले टुईटर त्यतिकै छोडेर ती दिदिको कुरा सुन्न थाले आफ्नै धुनमा। उनको अघिल्लो तिर बसेको एउटा अधबैसेँ मान्छे के के सोध्दै थियो खुसुसु...। खुसुसु यसर्थ कि उसले बोलेको गुनगुन मात्र सुन्थे तर उती कुराको भेउ पाउँदिन थिएँ तर ती दिदी भने अलिक ठुलै स्वरले बोल्दै हुनुहुन्थ्यो। उनको कुरा म राम्रै सुन्न सक्थे,र सुन्न थालें।
.............
हेर्नुहोस्,मलाई बढाईचढाई गर्न फिटिक्कै आउँदैन। अनी भित्र एउटा र बाहिए अर्को कुरा गर्ने मान्छे मन पनि पर्दैन। गाउँमा हुर्किएकी हुँ,त्यसैले गाउँले मिजास छ झुटोलाई झुटो र सत्यलाई सत्य भन्न मलाई कसैसँग डर लाग्दैन। तपाईंलाई पोखरेल जी ले मेरो बारेमा के भन्नु भएको छ त्यो म जान्दिन। म जे छु तपाईंको सामुन्ने छु। तपाई पनि आफ्ना कुरा निर्धक्क मेरो सामु राख्न सक्नुहुन्छ, चित्त नबुझेको कुरा अहिलै छलफल गर्न सकिन्छ,ताकी भोली गएर यो भएन त्यो भएन को स्थिती नआओस।
............
मैले भाडाँ माझ्छु भन्दा तपाईले पत्याउनु भएन रे! हो तपाईले झैँ  धेरैले पत्याउदैनन।हुन पनि कसरी पत्याउँन त है,आधुनिक पोशाकमा सजिएर स्कुटर चडेर जो हिड्छु। आज सम्म भाडाँ माझ्ने भनेको दुईछाक टार्न पनि धौ धौ हुनेले हो भन्ने मान्यताले अझै कहाँ छोडेको छ र हाम्रो समाजलाई! त्यसैले पत्यार नगर्नुलाई म नौलो मान्दिन। तर अब पत्त्यार गर्नुहोस् कि मेरो रोजिरोटी भनेको त्यै हो। त्यै कमाईबाट मैले आफ्ना आवश्यकताहरु पुरा गरेकी छु,गाउँमा मेरा बा'आमालाई नुन तेल खर्च पुगनपुग हेरेकी छु, भाईलाई यहिं आँफै सँग राखेर पढाउँदै छु।
.............(गुनगुने स्वरमा केही भन्दै गरेको त्यो व्यक्त्ती थोरै हाँसेको पनि देखिन्छ।)
हो हो, सहि अनुमान गर्नु भयो तपाईले। स्कुटर मैले भाडाँ माझेर जम्मा गरेको रुपयाँले किनेकी हुँ। तपाई सोच्नु होला कि भाँडा माझेर कसरी तेत्रो स्कुटर किन्न सकिन्छ? एक हिसाबले तपाईको अड्कल पनि ठिकै हो। तर एउटा कुरा के स्पष्ट हुनुहोस् भनेअहिले सम्म तपाई अनी अरुले सोचे जस्तो भाडाँ माझ्नेमा म पर्दिन। यसलाई यसरी बुझ्नुहोस् कि मैले भाडाँ माझ्नुलाई बाध्यता नभई आफ्नो प्रोफेसन बनाएँ। यो मेरो रोजाई हो बाध्यता होइन।
...........
ल हुन्छ कि किन नहुँनु, म तपाईलाई कसरी म यहाँ सम्म आईपुगे सबै बेलिबिस्तार लगाउँला, धैर्य चै चाहिन्छ है सुन्नलाई हुन्छ?
....स्वीकारोक्त्ती स्वरुप हल्का हाँसो र मुन्टो हल्लाएको देखिन्छ ।
म मेरा बाआमाकी कान्छी छोरी, मेरी एउटी दिदी हुनुहुन्छ र एउटा भाई छ। थुप्रै सपनाहरु बोकेर एस.एल.सि पास भएको वर्ष आज भन्दा दश वर्ष पहिले २०५८ सालको साउन महिनाको एक दिन भुकभुके उज्यालो मै  मेरी दिदी सँग पहिलो पटक काठमान्डौ आएकी थिएँ। हिंड्ने बेलामा आमाले ''राम्रो पढ्नु नानी'' भन्दै रातो टिका लगाएर हातमा दक्षिणा र एउटा नासपाती राखिदिनु भएको थियो। गाउँ छोड्नुको नमिठोपना र शहर पस्ने उत्साह एक साथ थियो। गाउँको सिरानमा हाम्रो घर भएकाले दाँयाबाँयाका घरहरु सँग सेपिएर उधोँ झरेको बाटो हिड्दाँ गाउँका भाउजु ठुल्यामा सानीमाहरु 'ए कान्छी पनि पढ्न हिंडेकी काठमान्डौ' भन्दा म खिसिक्क हाँसेर मन मनै गमक्क पर्थे।  दिदी भने के के कुरा गरिरहनु हुन्थ्यो उहाँहरु सँग। मलाई त्यो बेला असाध्यै झिजो लागेको थियो दिदी त्यसरी कुरामा अल्मलिएर नहिडेंको देख्दा। सायद काठमान्डौ पुग्ने हतारो थियो क्यारे म भित्र उतिबेला।
     घरबाट त्यस्तै ५ घण्टा जती पैदल हिंडेँपछी बस चड्ने ठाउँमा आईपुग्यौ। त्यहाँ सम्म त पहिले पनि आएकै थिएँ यात्रा नौलो थिएन। तर जब बसको यात्रा सुरु भयो अनी सुरु भए नौला यात्राका लहरहरु। मलाई जोडले भोक लाग्दै थियो। आमाले बिहान दिनुभएको नासपाती उहिल्यै खाईसकेकी थिएँ। दिदीले मलाई भोक लागेको थाहा पाउँनु भएछ क्यारे,मान्छे उकाल्न बस रोकेको ठाउँ छेवैको पसलबाट एक प्याकेट चाउचाउ किनेर दिनुभयो। गरमगरम एक प्याकेट चाउचाउ चपाएर बिहानै दिदीले झोलामा हाल्दिनुभएको बोतलको पानी खाए पछी भने आफुलाई केही सहज महशुस गरेकी थिएँ र झ्यालबाट बहिर नियाल्न थालेँ।
९ घण्टा जतिको बस यात्रा छिचोल्दै झमक्क साँझ परेपछी केही अग्लो डाँडो जस्तोमा आएर बस रोकियो। एक हुल पुलिसहरु हुरुरु बस भित्र पसे र सबैका झोला खोतल्न थाले। अज्ञात डरले घम्लङै छोप्यो र दिदी सँग टाँसिए। हाम्रो झोला पनि खोतलखातल पारेर पछाडिको सिट तिर हान्निए तिनीहरु र एकै छिनमा फेरी अघी झै गुरुरु बहिर निस्किए,बस फेरी हिड्यो। आबुई! अली पर्तिर र अझै पर पर सम्म बत्ती नै बत्ती पो देखियो त। तिहारमा बालेको दियो जस्ता साना अनी ठुला, राता,पहेँला,निला कती कती। पहिलो पटक देख्दै थिएँ यो सबै। दिदीले भन्नुभयो 'काठमान्डौ त्यै हो, अब धेरै टाढा छैन।' ऊ भन्दा ऊ छिटो गरी कुदेका बसहरु सँगै हामी चडेको बस पनि कहिले अघी र कहिले पछी हुँदै कुदिरह्यो।तर पनि मेरो मनको गती भन्दा बसको गती ढिलो भए झैँ लागिरह्यो। केहीबेरमै 'ल कलंकी झर्नुहोस्' भन्दै खलासीले ढोका खोल्यो। दिदीले झोला बोक्ने तरखर गर्नु भयो मैले बुझें अब हामी काठमान्डौ आईपुगेछौ। आफ्नो भागको सानो झोला झुन्ड्याउँदै दिदीको पछी लागेँ। बसले हामीलाई त्यही छोडेर उतिन्खेरै अलप भयो। मनमनै आँफैलाई भने 'तँ काठमान्डौ आईपुगिस्, आजैबाट सुरु भयो तेरो यहाँको बसाई', मसक्क मुठ्ठी कसेँ र आँफैलाई दरो बनाएँ।
                                                                              क्रमश:

1 comment:

  1. भाग २ को तिब्र प्रतिक्षा छ

    ReplyDelete