तिमी र म


सोच्छु 
पानी परेको श्रावणको यो एक दिन
म घरमा नभै’देकी भए,
सायद तिम्रो र मेरो भेटै पो हुन्थेन् कि ! 
तिमीले आफैँ आँखा जुधायौँ 
अनि आफैँ लजायौँ।
तिम्रो त्यो ‘इन्नोसेन्ट फेस’मा म नफस्देकी भए। 
तिम्रो बेतुके जोकमा नहाँस्देकी भए
सायद हाम्रो फेरी भेट पो हुन्थेँन कि ?

हाम्रो भेट नभै’देको भए
तिमीबिनाका 
कयैंन अनिँदा रातहरू मेरो भागमा पर्थेनन् कि
आँशुले मेरा आँखा भर्थेनन् कि !
तर त्यै भयो जे नहोस् भन्थेँ 
त्यै गरेँ जे नगरुँ भन्थेँ 
तिमीलाई यो मनमा ओर्लन दिएँ..
खुसुक्क, सुटुक्क...
आफैँलाई झुक्याएर
सबैलाई झुक्याएर
सबैबाट लुकाएर
एकछत्र राज गर्न दिएँ
बिना रोकतोक, 
निश्चिन्त 
नि:सन्देह। 

तिमी त गयौं सहजै
नाता तोडिदियौ सजिलै
जसरी नजिकिएका थियौँ 
उसैगरी बाहिरियौँ। 
सुनेँ,
म सँग मात्रै कहाँ हो र ? 
म सँग जोडिएका एक एक कुराहरु 
हरेक चिजबिजहरू र एक एक नाताहरू तोडेर गयौँ रे। 
तर मैले किन अझैँ आफूलाई तिमीबाट अलग्याउन सकिन?
मैले किन तिमीले जस्तै आफ्नो जिन्दगी बाँच्न जानिन ?
किन म अझैँ हरेक साँझ तिम्रो बाटो हेर्छु ?
तिमीले बाटो मोडेको त उहिल्यै हो। 

सोच्छु, उतिबेलै
तिमीलाई छेकारो लाइदे’की भए
तिम्रो त्यो मनको जाँचपडताल गरेकी भए 
तिम्रा ती निर्दोष देखिने 
आँखामा लुकेको कपट पढेकी भए
आज म टुक्रा टुक्रा हुनबाट जोगिने थिएँ
जिन्दगीको अर्कै यौटा भाग भोगेकी हुन्थेँ
सानी हुँदा देखेको सपना बाँचेकी हुन्थेँ। 
र अन्तत:
म पनि खुशी हुन जानेकी हुन्थेँ। 
मैले पनि हाँस्न सिकेकी हुन्थेँ। 
मैले पनि बाँच्न जानेकी हुन्थेँ। 

No comments:

Post a Comment