Photo: Google |
उहिेले
काठमाडौँमा साँच्चै धेरै झरी
पर्थ्यो अहिले पनि पर्छ होला
। काठमाडौँ छोडे देखि मलाई
त्यो झरीको यादले नसताएको
भने हुँदै होईन । डार्विन
आएदेखि झरीको आनन्दबाट टाढै
थिएँ । यो हप्ता नपत्याउँदो
झरी पर्दैछ । शुक्रबार काम
सके देखि शनिबार आईतबारको
बिदामा यसपाली सोमबार पनि
बोनस बिदा पर्ने पालो । तिन
दिने बिदा अनि झरी, यसपालीको
झरीले काठमाडौँको झरी बेस्सरी
सम्झायो ।
डार्विन
र झरी आपसमा विपर्य झैँ लाग्छ
मलाई । पानी पर्ने छ महिना पनि
हररर एकछिन पानी परेर उतिखेरै
टन्टलापुर घाम फेरी एकैछिनमा
हरररर पानी फेरी घाम । घामपानीको
लुकामारी मै बित्ने दिनरात।
अर्को छ महिना पानी भनेको
धारोमा र बोटलमा मात्रै देख्न
पाइने। पहिले पहिले उदेक
लाग्थ्यो यो मौसम तर अचेल
आफ्नै लाग्छ । स्मृतिमा पाटनका
ती आवारा गल्लीहरुको छाप माथी
डार्विनको सामुद्रिक बलौटे
हावाको लेप पो लाग्न थालेको
हो कि ? हुन
पनि छुटेका यादहरू संगालेर
मान्छे कति दिन पो बाँच्न सक्छ
र ? जिन्दगी
बाँच्दै जाँदा सिक्ने कुराहरू
हुन् यी कतिले हेक्का गर्छौ
कतिले बिर्सिदिन्छौँ । कसैलाई
सम्झनुमा आनन्द कतिलाई भुल्दा
।
अँ
म डार्विन र झरीको कुरा गर्दै
थिएँ कुरा अन्तै गएछ । तिन
चार दिन भयो लगातार पानी नपरे
पनि र छाला डाम्ने घामबाट
छुटकार पाएको । यसपाली बादल
र पानीको लुकामारी देख्न
पाईएको छ। यो दीर्घकालिन मौसम
हुँदै होईन तर पनि मौका पाउँना
साथै स्मृतिमा जम्मा भएको
याद बल्झँदो रै'छ
। तिन दिन बिदा भएकोले हतारो
कुनै कामको थिएन । झरी पनि
मेरै लागि परेको झैँ लागेको
छ । कफीको साथमा झ्यालबाट पानी
परेको हेर्नु जति मज्जाको
कुरा अरु के नै होला र । पानीका
थोपाहरु सिमीको झ्यालमा प्याजी
फूलहरू सँग लडिबडी गर्दै भुइँ
सम्म ओर्लेको हेरेर मलाई त्यो
काठमाडौँको झरी र झरीले लुछुप्पै
भिजेका निला फूलहरुको माया
लागिरहेछ ।
निला रङको पारिजातको
शिरिष यता देखेकी छैन । यो
ठूलो महादेशकै अर्को कुनामा
पारिजातका शिरिषहरू ढकमक्क
फुलेको देखेकी थिएँ । डार्विन
मलाई तिम्रो उष्ण हावा पनि
अब मन पर्न थालेको छ । यसपालीको
यो झरी त झन कति मन परेको छ म
तिमीलाई कसरी भनौँ ? सक्छौ
भने निला शिरिषका फुलहरू
तिम्रो काखमा पनि हुर्काउ ।
मलाई झैँ निला फुलहरुलाई पनि
तिम्रो शुष्क छातीमा बास देऊ
न है ।
No comments:
Post a Comment