त्यो बाल्यकाल

हरेक साँझ काफलपाने डाँडाको झल्को आउँछ,
क्यासुरिना बिचमा सनसेट हेर्दै गर्दा, 
Photo: Google
उता डाँडामा अस्ताउने घाम 
यहाँ पानीमा अस्ताउँछ। 

बालाई जिद्दी गर्थें,
काफलपाने डाँडामा लगिदिनु
घाम त्यो डाँडाबाट कहाँ जान्छ म हेर्छु ! 
ठूली भएसी जालिस् बा’ हप्काउनुहुन्थ्यो। 

उता दिदीहरू बनथाकलभलायो,
अमला र कटुसका कथा हाल्थे,
यता म आमालाई गनगन गरिरहन्थेँ,
म पनि जानी के बन 
दिदीलाई लैजा भन्दिनुनि।
तँ हिड्न सक्दिनस् आमा टार्नुहुन्थ्यो। 

हो त्यै बेला मलाई ठूली हुन मन लाग्थ्यो,
तगारोमा हुर्केको सालरुख जस्तै ठूली
आजको भोली,
काफलपाने डाँडो र बन चाहर्न सक्नेगरी। 

गुराँसेलेकको बनभातको मजा
इस्टपोइन्टको बार्बिक्यूमा खोज्छु
झोलुङ्गेपुलको मच्चाई र थच्चाई
रोलर कस्टर अनिस्विङसँग मिल्छ र
घरै मगमगाउने गोकुलधुपको सुगन्ध 
कुनAir Freshenerमा खोजुँ
यता फूलेका अर्चिड र डेजर्टरोज खोज्छु ।
उता तगाराहरुमा फूल्ने 
करविरअसारे र बाह्रमासेको सुगन्ध। 
बाबै फूल पनि पराय लाग्ने यता ।

पहाडका खोल्चाखोल्छीमा लडिबुडी गर्दै,
ठूलोखोलमा ककराहरूमा माछा समातेर 
बित्ने बर्खा,
असारे खेतको हिलोको सुगन्ध 
पहिलो झर पानीले मगमगाउने माटाको सुगन्ध 
र खेतका कलिला मकै 
अनि बाँदर लखेटाई 
एकादेशका कथा त पक्कै हैनन्?

हरेक साँझबाले सुनाउने ताराका कथा,
पुष्पक विमान र पुराणका उपकथा
रात सकिदाँ समेत न सकिने लामा दन्त्यकथा
कहिल्यै नसकिने अनि त्यसपछि के भयो..’ को मेरोप्रश्न 
र मेराबाको धैर्य,
यौटा सिङ्गो विश्वविद्यालय मेरो बाल्यकाल। 

सल्लीपिरको सिलिलिली खेलेर,
गाईबाख्रा चराउँदा खाएको
चिचिला आँपकागती र नुन खुर्सानी सम्झँदा
अझैँ मुखमा पानी नउम्रने कहाँ हो र
घुटुक्क थुक निल्दै 
जति सम्झ्यो उति गाढा लाग्ने 
यौटा सिङ्गो विश्वविद्यालय मेरो बाल्यकाल। 

एकहोरो बग्ने यो जिन्दगी
फर्केर उही पाइतालाको डोबहरु कता खोज्नू ?
नयाँ पाइलाहरु नयैँ बनेर टेकिन्छन्
ठूलोखोलाको पानीसँगै बगेका सम्झनाहरू
बिराना भएका पखेरा र बगरहरू
खै अब कैले समेटिएलान ! 

                         सुमन मञ्जरी (30/05/019)

हेप्पी न्यू इयर पहाडी गुराँस

हरेक साँझ,
सुस्तरी चलेको बतासले
तिम्रा गालाहरूमा हल्का स्पर्श गर्दा
तिमीलाई मेरो झझल्को आउँछ कि आउँदैन्  ?

बुफ्यालो क्रिकको चिसो पानीमा 
दुबै गोडा डुबाउँदा
तिम्रा पाइतालाहरूमा लाग्ने हल्का काउकुतीले
तिमीलाई मेरो झझल्को आउँछ कि आउँदैन् 

शनिबारीय साँझ
सामुन्द्रिक किनारमा हात समातेर 
बरालिएका जोडीहरु देख्दा
तिम्रो मनमा काउकुती लाग्छ कि लाग्दैन् 

हरेक बिहान घाम उदाउनु भन्दा पैले
चराहरू ब्यूँझनु अघि 
तिम्रा यादले सताउँछन् मलाई। 
ओ पहाडी गुराँस !
तिमीलाई सञ्चै छ 
अनि तिमीले भित्र्याउने नयाँ वर्ष?

हेप्पी न्यू इयर पहाडी गुराँस। 

डार्विन र झरी



Photo: Google
उहिेले काठमाडौँमा साँच्चै धेरै झरी पर्थ्यो अहिले पनि पर्छ होला । काठमाडौँ छोडे देखि मलाई त्यो झरीको यादले नसताएको भने हुँदै होईन । डार्विन आएदेखि झरीको आनन्दबाट टाढै थिएँ । यो हप्ता नपत्याउँदो झरी पर्दैछ । शुक्रबार काम सके देखि शनिबार आईतबारको बिदामा यसपाली सोमबार पनि बोनस बिदा पर्ने पालो । तिन दिने बिदा अनि झरी, यसपालीको झरीले काठमाडौँको झरी बेस्सरी सम्झायो ।

डार्विन र झरी आपसमा विपर्य झैँ लाग्छ मलाई । पानी पर्ने छ महिना पनि हररर एकछिन पानी परेर उतिखेरै टन्टलापुर घाम फेरी एकैछिनमा हरररर पानी फेरी घाम । घामपानीको लुकामारी मै बित्ने दिनरात। अर्को छ महिना पानी भनेको धारोमा र बोटलमा मात्रै देख्न पाइने। पहिले पहिले उदेक लाग्थ्यो यो मौसम तर अचेल आफ्नै लाग्छ । स्मृतिमा पाटनका ती आवारा गल्लीहरुको छाप माथी डार्विनको सामुद्रिक बलौटे हावाको लेप पो लाग्न थालेको हो कि ? हुन पनि छुटेका यादहरू संगालेर मान्छे कति दिन पो बाँच्न सक्छ र ? जिन्दगी बाँच्दै जाँदा सिक्ने कुराहरू हुन् यी कतिले हेक्का गर्छौ कतिले बिर्सिदिन्छौँ । कसैलाई सम्झनुमा आनन्द कतिलाई भुल्दा ।

अँ म डार्विन र झरीको कुरा गर्दै थिएँ कुरा अन्तै गएछ । तिन चार दिन भयो लगातार पानी नपरे पनि र छाला डाम्ने घामबाट छुटकार पाएको । यसपाली बादल र पानीको लुकामारी देख्न पाईएको छ। यो दीर्घकालिन मौसम हुँदै होईन तर पनि मौका पाउँना साथै स्मृतिमा जम्मा भएको याद बल्झँदो रै'छ । तिन दिन बिदा भएकोले हतारो कुनै कामको थिएन । झरी पनि मेरै लागि परेको झैँ लागेको छ । कफीको साथमा झ्यालबाट पानी परेको हेर्नु जति मज्जाको कुरा अरु के नै होला र । पानीका थोपाहरु सिमीको झ्यालमा प्याजी फूलहरू सँग लडिबडी गर्दै भुइँ सम्म ओर्लेको हेरेर मलाई त्यो काठमाडौँको झरी र झरीले लुछुप्पै भिजेका निला फूलहरुको माया लागिरहेछ । 

निला रङको पारिजातको शिरिष यता देखेकी छैन । यो ठूलो महादेशकै अर्को कुनामा पारिजातका शिरिषहरू ढकमक्क फुलेको देखेकी थिएँ । डार्विन मलाई तिम्रो उष्ण हावा पनि अब मन पर्न थालेको छ । यसपालीको यो झरी त झन कति मन परेको छ म तिमीलाई कसरी भनौँ ? सक्छौ भने निला शिरिषका फुलहरू तिम्रो काखमा पनि हुर्काउ । मलाई झैँ निला फुलहरुलाई पनि तिम्रो शुष्क छातीमा बास देऊ न है ।