फोडेँ मुटु मुस्कुराएर, पागल भएँ म...

फोडेँ मुटु मुस्कुराएर, पागल भएँ म...
छायासंग पो  डराएर, पागल भएँ म...
चिथोरेँ आफ्नै बदन, म चस्केँ र फस्केँ...
लडेँ, उठेँ लर्खराएर, पागल भएँ म...
बदनका चोटहरु त, सहेरै बाचेँथेँ...
अदृश्य घाउ चर्हाएर, पागल भएँ म...
लाग्थ्यो मेरो कहानी सुन्दैछन् सबै...
एक्लै मात्र कराएर, पागल भएँ म...
आँसु बग्न खोज्दा, रोकिदिन खोजें...
आँखा मात्र भराएर, पागल भएँ म...
केही साता अघिको बुलबुल कार्यक्रममा सुनेको यो गजलको प्रथम दुई सेरले मन यति छोएथ्यो... बयान गर्न सक्दिन... आज खै किन आफ्ना तिन सेर थपेर यसलाई पुरा गर्ने दुस्साहस गरें... गल्ती भएमा क्षमा....
फेसबुकमा "सुमन मञ्जरी" को सहयोगमा प्रकासित...

गजल

म दु:खी हुँदा पनि हाँसिदिन्छु...
म आसुँ झर्दा पनि नाचिदिन्छु...
जीवन त्यागी मर्ने त धेरै छन्...
म विषै पिएर पनि बाँचिदिन्छु...
साटेर जीवन बाँचेको  पनि देखें...
म तिम्रै नाममा जुनी साँचिदिन्छु...
झुठको छ कि डर त्यो मनमा कतै...
म कस्तो रहेछ भनी जाँचिदिन्छु....
'सामिप्य' पाएँ आज एक्लो 'सुमन'.....
म पातै सहितको हाँगो भाँचिदिन्छु ....

आज फेरी त्यो गाँउ को याद आयो

आज फेरी त्यो गाँउ को याद आयो ...
जन्मी हुर्केको ठाउँ को याद आयो ...

पाखा र पखेरा लडेर लागेका ती ....
पुराना तिनै घाऊ को याद आयो ...

तोते बोली र कखरा सिकाउने ......
ति बुढा भा'का बाउ को याद आयो .....

गोठालो जाँदा हानेर सताउने ....
लाम्काने ठुलो माउ को याद आयो ......

सुमन मञ्जरी

ईश्वर भाकी दिएको सुमन

दबिनेलाई चाप हो संसार
जल्नेलाई ताप हो संसार !!

जन्मिएपछी मरण निश्चित
काल यात्राको नाप हो संसार !!

सोच झैं भए रम्छ जीवन
नभए त अभिशाप हो संसार !!

मिल्दा साथ बरदानै हुने
नमिल्दा मन श्राप हो संसार !!

ईश्वर भाकी दिएको "सुमन"
"सामिप्य" हुँदा फाप हो संसार !!

"थाहै नभैइ सपनीमा आईदिने बानी राम्रो"

थाहै नभैइ सपनीमा आईदिने बानी राम्रो !!
चोखो माया सधैं-सधैं लाईदिने बानी राम्रो !!

स्वच्छ तिम्रो मनमुटु जहाँ कही जती बेलै
मेरै नाम गीत सरी गाईदिने बानी राम्रो !!

केही पल हुँदा टाढा तिम्रा आँखा माझ बाट
बेचैन भै खोजी गर्न धाईदिने बानी राम्रो !!

एक्लै पर्दा यदाकदा एकान्तमा पनि
सम्झनामै छपक्क भै छाईदिने बानी राम्रो !!

दिन्छौ कति चोट अझै, अब लाग्ने ठाउँ नै छैन..

दिन्छौ कति चोट अझै, अब लाग्ने ठाउँ नै छैन...
तिम्रो घात देखि अन्त , मेरो भाग्ने ठाउँ नै छैन...

सास मेरो तिम्लाई सुम्पी, तिम्रै भरमा बाचें...
मृत्यु शैया पुगेको छु, मेरो जाग्ने ठाउँ नै छैन...

जति नजिक रहन्थ्यौ, त्यति टाढा हुन खोज्छौ...
लगाएको पर्खाललाई , अब नाग्ने ठाउँ छैन .....

जतन गर्ने बाचा गरि, लिई गयौ मुटु मेरो ...
टुक्रिएको मुटु अब, तिमीले माग्ने ठाउँ नै छैन...

नोट :- मञ्जरी ,, सामिप्य संयुक्त
http://umesh-k.blogspot.com/2010/06/blog-post_14.html

"गजल "

बेइमानी बानी !!
नजरले हानी !!

समिप मै राख्छु
जबर्जस्ती तानी !!

हेर्छ्यौ जब तिमी
हुन्छु पानी पानी !!


किन लाग्छ यस्तो
माया कि हौ खानी !!

पछ्याउछन् सबै
घार कि हौ रानी !!

"मञ्जरी" भै फुल्यौ
टिप्छु त्यही छानी !!

" मुक्तक"

(एक)
थियो जोडी रामलक्ष्मण कस्ले आज जाल रच्यो
सुखा उजाड जमिन बिचै कुन्नी कस्ले ताल रच्यो
दुई ज्यान एक मुटु भएका थियौ हामी यसै-
छिन्न भिन्न पार्न हाम्लाई कुन्नी कस्ले काल रच्यो !

(दुई)
जे जे आउंछन सबै बाधा सँगै तर्ने थियो मन
भन्थ्यौ मलाई मेरो दाजु तिमी मेरो मियो बन
रिसाएर हिडेयौ तिमी भए म जिउदै लाश-
फटेको थ्यो दुबै मन कसरी सियौ भन!!

गजल

त्यो बात झुटो लाग्यो !!
त्यो रात झुटो लाग्यो !!

पिउँदा पिउँदैको
त्यो मात झुटो लाग्यो !!

साहारा बनिदिने
त्यो हात झुटो लाग्यो !!

जानेरै उस्ले दे'को
त्यो घात झुटो लाग्यो !!

"मञ्जरी" झरीदिँदा
त्यो पात झुटो लाग्यो !!

"गजल"

जति पटक सम्झ्यो तिमी त्यति मुर्छा परेकी छु
बाँच्दाबाँच्दै मै पनि किन भित्रभित्र मरेकी छु !!

सकिन गर्न केहि, न त थियो आँटै रोक्ने छेक्ने
विबश हुँदै दिनरात आँखाहरु भरेकी छु !!

छैनौ नजिक तिमी भन्ने थाहा भए पछि सधैं
क्षितिज पारि देखिन्छौ कि भनि हेर्ने गरेकी छु !!

कठैबरा!त कस्ले भन्ला स्वार्थी न हो जग सारा
देखावटी नै भएपनी आज हाँसो छरेकी छु !!

बगिरहने रित रै'छ जिन्दगीको बुझेँ बल्ल
जंघारहरु जसो तसो एक्लै तर्ने गरेकी छु !!

गजल

तराई पाँउ पहाड छाती सगरमाथा शिर अब
लर्खराउने होइन साथी सफल हुने धिर अब !!

जरुर आँखा लाग्छ फेरी नि सजग रहु सुस्ता तिमी
पारिआउदा लड्नु नै पर्छ सबैले राख तिर अब !!

ईतिहास छ जिवित अझै नसहेको'थ्यो परतन्त्र
मेट्न नदेउ त्यो पहिचान सधैंलाई नै चिर अब !!

बारम्बार नै प्रहारहरु हुन सक्छन आफु माथि
जोगाउनु र जोगिनु पर्छ सम्झ बुझ न पिर अब !!

डग्मगाउने हैन पाईला झुक्ने छैन है माथ अब
सम्हाल्नु पर्छ नेपाल सारा ढल्पल हैन थिर अब !!

गजल

मिलनको आश !!
एक्लिएको बास !!

मेरो लागि सधैं
तिमी मात्र खास !!

बिछोडको पीडा
दिनै घट्दो गाँस !!

हेरेर नै तिमी
अन्त्य होस सास !!

"मञ्जरी" मै देख्यौ
माया को त्यो रास !!

गजल :-"मान्छे"

मरे समान बाँचेको हुँदो रै'छ मान्छे
दुखी हुँदा त एक्लै नै रुदो रै'छ मान्छे !!

आफ्ना चाहना सबले पुरा गर्न खोज्दा
गाई नपुगी गोरु पो दुदो रै'छ मान्छे !!

लोक बुझाई उ आफु बन्न भनी चोखो
जाली आँशुमा त्यो पाप धुदो रै'छ मान्छे !!

फुली काँडाकै बिचमा एक्ली हाँस्ती सुमन्
काँडा बिचकै "मञ्जरी" छुदो रै'छ मान्छे !!