नभुलेको एउटा नाता

  उफ ! अफिस निस्कने बेलामा मलाई सधै हतारो हुन्छ, काम सबै बिहानै सके पनि जब घडीले नौ बजाउँछ तब मेरो हतारो सधै उस्तै, फाईल खोज, ब्याग मिलाउ,अनि दिउँसै चोरको बिगबिगी भएको शहरमा आफुले जोरजाम गरेका सर-सामान सुरक्षित पार्ने प्रयास यती नै भ्याई नभ्याई हुन्छ । उतिनै बेला मोबाईलमा फोन आएको संकेत दिँदै राजू लामाको ''पर्खाईमा भिज्यो सिरानी ..... '' बज्न थाल्छ, एक मन सोच्छु आ' होस् को  हो,आफुलाई ढिलो हुन थालिसक्यो फोन रिसिभ गर्दिन, फेरी अर्को मन तुरुन्तै भन्छ 'कोहि कसैलाई आपतै अथवा केही जरुरी पनि त परेको पनि त हुन सक्छ चाहिएको बेलामा नउठ्ने हो भने फोन बोक्नु र नबोक्नुको के अर्थ र ? खुरुक्क फोन नउठाएर' हतारिएर फोन उठाउछु - '
'हेलो ?'
'नमस्ते आभा जी' मैले कति गारो सँग तपाईको नम्बर खोजे, म तपाईंलाई अप्रत्त्यक्ष चिन्छु तर मलाई तपाई चिन्नुहुन्न,अहिलेलाई म तपाईंको कथाको पात्र यसरी नै चिन्नुहोस् न है, म तपाईलाई आफ्नो बिगत सुनाउन चाहन्छु, तपाई त्यसको कथा लेखिदिनुहोस नामहरु नराखी, त्यसैको लागि मैले फोन गरेको''
अपरिचित स्वर एकै सासमा भनिसक्छ, म  ट्वाल्ल पर्छु कुराको मेलोमेसै नबुझेर ।
''हेलो! हेलो!! सुन्दै हुनुहुन्छ?? '' 
यो आवाजले झस्किन्छु अनि भन्छु -'हेर्नुहोस म कथाकार होइन, म बैंकमा काम गर्ने कर्मचारी हुँ सायद तपाईलाई कसैले गलत नम्बर दियो होला ..'' यति भन्दाभन्दै बिचैमा  कुरा काट्दै उसले भन्यो-
''गलत नम्बर होइन मैले सहि नम्बर नै पत्ता ला'को छु, के तपाई आभा जी होइन त ??''
'हजुर हो मेरो नाम आभा नै हो अनि नाम त जुध्न पनि सक्छ' मैले तुरुन्तै भने ।
''तपाई पोखरा बस्नु हुन्छ होइन ??''
'हो'
''अनि तपाई ईनभेस्टमेन्ट बैंकमा काम गर्नु हुन्छ होइन ??''
'हो'
''ल अब आफै भनुहोस म कसरी झुक्किए ,म सही नै छु'' हल्का हाँस्दै उसले भन्यो
म अझै अलमल्ल परे,सबै कुरा थाहा रहेछ त,अनि फेरी भने-
'तपाईले भन्नु भएको सबै ठिकै हो र पनि म कथा लेख्ने मान्छे भने होइन ।'
''होइन भने अब लेख्नुहोस न हुँदैन ??'' उसै गरि टड्कारो जवाफ उसले मलाई दियो ।
'म....मैले लेख्ने ?? '
''अँ तपाईले लेख्ने मेरो कथा, म तपाईंलाई सुनाउछु मेरो अतित अनि तपाई आफ्नै हिसाबले लेख्नुहोस ।''
'तर मलाई त लेखन तरिका नै थाहा छैन अनि म सँग फुर्सद पनि त छैन हेर्नुहोस अहिले पनि मलाई अफिस निस्किन हतार भईसक्यो।'
''म तपाईलाई आफ्ना कुराहरु भेटेरै सुनाउन चाहन्थे तर सम्भव होला झैँ लागेंन  कारण म राजधानी मै बस्छु आफ्नो परिवार सहित,तपाई उता हुनुहुन्छ, मलाई आफ्ना भोगाईहरु लेखिएको हेर्ने मन छ, अनि मैले पाएको जानकारी अनुसार तपाई पहिले लेख्नु हुन्थ्यो होइन ??''
म के  भनुँ न नभनुँ दोधार परिरहे, उ फेरी बोल्न थाल्यो-
 ''ठिकै छ  म मेल गर्ने छु तपाईलाई मेरा कथाहरु सरसर्ती लेखेर मलाई मेल आईडी दिनुहोस तपईको।''
उसको स्पस्ट कुरा गराई बाट उ मलाई बेकारमा फोन गरेर दुख दिने मान्छे हो जस्तो लागेंन हेरौ न त के रे'छ त्यस्तो कथा  म पनि, आखिर अफिस बाहेक बिहान बेलुका म फुर्सदिलो नै हुन्छु क्यारे यदी साँच्चै राम्रै  बिषयबस्तु भेटेँ भने लेख्नु मेरो सोख हो, फेरी थाल्दा केही बिग्रने पनि त होइन,पहिले पनि लेखेकी नै हूँ पछि मन मरेर त लेखन रोके.... यस्तै यस्तै सोचेर आईडी टिपाएर अफिस निस्किए ।
  दिन भरि अफिसको काम सकेर बेलुका घर फर्किए, बिहानको कुरा याद मै थियो, कतै मेल आयो कि ''त्यो मान्छे''को भनेर कफीको लागि पानि उमाल्न हिटर माथि राख्दै कम्प्युटर अन गरे,उता कफी तयार भयो यता कम्प्युटर पनि खुल्यो, होइन किन उसले मलाई नै छान्यो आफ्ना कथा सुनाउन ? मेरो ठाउँमा अरु जो कोही पनि त हुन सक्थ्यो, यस्तै सोच्दै  फेसबुक,टुईटर भन्दा पहिले इनबक्स हेर्न मन लाग्यो, मेल तिर नै लागे, नयाँ केहि मेलहरु त आएकै थिए जस मध्ये एक मेल सायद उही बिहान फोन गर्ने को थियो कि ? उसैको थियो यसर्थ कि उसले मलाई मेल पठाउछु भनेको थियो नहुन सक्छ  यसर्थ कि यो मेल उसैको हो भनेर चिन्ने आधार म सँग केहि थिएन, जे होस् मैले त्यो मेल पढ्ने फैसला आफ्नै मन सँग गरे,जब पढिसके मलाई त्यो कथा उसको नभएर उसले मेरा भोगाईहरु लेखे झैं लाग्यो, झस्किए पटक पटक.... यस्तो कसरी ?? दुरुस्तै भोगाई.......... !!  उस्तै उस्तै भोगाईहरु त मान्छेको जीवनमा दोहोरिन्छन दोहोरिन त तर उस्तै उस्तै नभई  दुरुस्तै !!!! कतै  मलाई फोन गरेर नाचिन्ने बनेर, कथा लेख्न लगाउने उही त होईन? जसलाई मैले आज सम्म भुल्न सकेकी छैन,जसको कारण मैले राजाधानी छोडेको थिएँ आँफै सँग भागेर...कि उ जस्तै अरु कोहि ?? 
 आज आफ्नै अतित फेरी ताजा बनेर सबै एका एक आँखा वरपर घुम्न थाल्यो,मैले कहिलै नभुल्ने अतित.... फेरी एक पटक आफ्नै अतित डुल्न मन लाग्यो.....
  हाम्रो भेट अचानक नै भएको थियो, न कुनै सोच न कुनै तयारी न के न के ... आफ्नो अस्त ब्यस्त दैनिकीबाट केहि बचेको समय या समय बचाएरै भए पनि ईन्ट्ऱनेट को दुनियाँमा हराउनु,देश/बिशेदका चिनेका/नचिनेका साथीहरु सँग गफ्फिनु अहिले प्राय: सबै को दैनिकीको एक हिस्सा नै हो,त्यहिँ मेरो पनि थियो, प्राय: म बेलुका नेट सफर गर्न रुचाउथे/रुचाउँछू । यसो गर्नु एक हिसाबले बाध्यता पनि थियो/हो। दिन भरिको भाग दौड अनि थकाई एकातीर पन्छाएर साथीहरु सँग गफ्फिनुको मज्जा बेग्लै लाग्छ मलाई।तिनै दिनहरू मध्यको एक दिन  मेरो रुचिको बिषय सँग सम्बन्धित भएर एक जना चिनेको साथीको स्ट्याटसमा उसले जुन कमेन्ट लेखेको थियो त्यहिँ कमेन्टले मलाई उ बाट प्रभावित बनायो.. मैले उसलाई साथी बन्न आग्रह गरे उसले पनि तुरुन्तै स्वीकार गर्र्यो, औपचारिक परिचय आदान-प्रदान गरेर आ-आफ्ना बारेमा,अनि आ-आफ्ना अनुभव एक अर्कोलाई बाढ्दै जादाँ  हामीमा  एकखाले आत्त्मियता गासिईसकेको थियो । च्याट,मेल हुँदै हाम्रो कुराकानी मोबाईल म्यासेज र फोन सम्म आईसकेको थियो। तर हाम्रो भेटघाट भएको भने थिएन ।  
''अब हामीले भेट्नु पर्छ बुझ्यौ'' एक दिन ख्याल ख्याल मै मलाई उसले भनेको थियो ।  
''हुन्छ'' मैले उस्तै सहज जवाफ फर्काएको थिए । 
त्यसरी कुरा भएको झन्डै दुई दिन पछि मोबाईलमा म्यासेज आयो,जुन उसैको थियो जहाँ लेखिएको थियो -
 ''आज हामी भेटौ है, छुट्टीको दिन पनि छ ।'' 
उ सँग को आत्मियताले  मलाई मैले नयाँ अनि कहिलै नदेखेको मान्छे भेट्न जादै छु भन्ने भानै कत्ती पनि परेंन, त्यसैले रिप्लाई लेखे -
''हुन्छ  ल समय र स्थान भन म आउने छु ।''
उसले दिएको समय र स्थान अनुसार एघार बजे द बेकरी क्याफे,बानेश्वर पुगे। उ पहिले नै मलाई कुर्दै रहेछ, फोटो देखिसकेकी हुनाले उसलाई परै बाट चिने, फोटोमा अनुहार मात्रै पहिले देखेकी थिएँ, गोरो वर्ण, ठिक्कै को कद मिलेकै लाग्यो हाउभाउ पनि। सुरुमा अलिक असहज झैँ लागे पनि केहि  बेर मै त्यो असहजता हट्यो छिट्टै हामी एक अर्का सँग नजिकियौ। त्यस दिनको भेटघाट पछी हाम्रो भेटले निरन्तरता पाउन थाल्यो, छुट्टीको दिन सधै हामी भेट्न थाल्यौ,काम,साथीभाई,कलेज देखि पारिवारिक कुराहरु सबै सेयर गर्ने गरेका थियौ, अझ भनौ सायदै केहि कुरा थिएन जुन हामीलाई थाहा नभएको होस् एक अर्काको बारेमा। दिनहरु रमाईलै बित्दै थिए, अब हामीमा कुनै दुरी बाँकी थिएन.. हप्ताम भेट्ने हामी अब दैनिक भेटिन थालेका थियौ, ए अर्कोलाई सके सम्म खुशी दिनु हाम्रो मुख्य उदेश्य हुन्थ्यो सधै ।
         एक साँझ म अफिस बाट सिधै द बेकरी क्याफे पुगेर उसलाई कुर्दै थिए, सधै समय मै आईपुग्ने उ आज आईपुगेको थिएन सोचे जाम पर्यो होला,कठामान्डौ को ट्रफिक न हो के भर र .....एकैछिनमा उ देखा पर्यो तर मैले उसको अनुहार हेर्ने  सकिन, कस्तो पिडा थियो उसको अनुहारमा, वर्षाको मेघ झैँ थिए उसका आँखा झर्न आतुर.....चुपचाप छेउमै आएर बस्दै एउटा लामो उदासीको सास फेर्यो, के भन्ने के नभन्ने मैले केहि सोच्न नपाउदै झण्डै  झण्डै  रुला झैँ गर्दै उसले भन्यो ''आभा यो के भयो??'' म झन झन असमन्जस्यमा पर्दे गए, उस्तै मलिन स्वरमा फेरी भन्यो ''सकियो आभा हाम्रो खुशी हुने दिन अब '' 'होइन तिमीलाई के भयो त्यो भन त पहिले किन एकहोरो कुरा गरेको??'
''मैले बिहे गर्नु पर्ने भयो'' रुन्चे स्वरमा उसले भन्यो ।'
'अनि के भयो त ठिलो चाडो गर्नु नै पर्छ  क्यारे, पढाई पनि त सकियो जागिर पनि थालेकै छौ अनि किन फेरी यो पिर किन यो उदासी??' मैले उसलाई सहज बनाउन खोजे ।
''मलाई अहिले नै बिहे गर्ने मन छैन, तिमि पनि त एक्लै हुन्छ्यौ फेरी ''
'हेर म एक्लै हुन्छु भन्दैमा तिमीले घर परिवार अनि आफन्तको रहर मार्नु हुन्न बुझ्यौ? अनि फेरी तिमीले बिहे गर्दैमा हाम्रो मित्रताको  अन्त्य हुने पनि त होइन, छिट्टै म पनि बिहे गर्छु, हामी केहि समयका मात्र सहयात्री हौ भन्ने त हामीलाई पहिले पनि थाहा थियो,हामीले छुट्नु  पर्छ पनि थाहा थियो अनि किन मन दुखाउछौ फेरी ?'
उसले केहि जवाफ दिएन, त्यो मौनता को रहस्य  के थियो कुन्नि मैले बुझ्ने कोशिसै गरिन...त्यो भेटघाट को झण्डै बीस/बाइस दिन पछी धुमघाम सँग उसको बिहे भयो, उसको बिहे पछी त्यो शहरमा म एक्लिएकी थिए,उसलाई त्यों बेला सम्झाए पनि मैले आफ्नै मन भने सम्झाउन सकेकी नै थिईन, उसको सामु आफु कमजोर बनेर उसलाई झन उदास पार्नु मेरो लक्ष्य थिएन। दिन दिन मलाई काठमान्डौ बिरानो लाग्न थाल्यो। बिहे पछी उ सँग भेटघाट हुने बातावरण पनि खासै मिलेन, फोन अनी अनलाईन का भेटघाट को मध्यम त मैले आँफैले बन्द गरिदिएकी थिए, सोचे उसको ब्यत्तिगत जीवनमा अब मेरो उपस्थिती हुनु राम्रो होइन,पहिले जस्तो परिबेश अब रहन्न, अन्तत: एक दिन मैले कोहि कसैलाई खबरै नगरी सुटुक्क काठमान्डौ छोडे । 
 केही दिन जता मन लाग्छ त्यतै घुमे,घुमेरै जिन्दगी नचल्ने आभाष भए पछि आफ्नो लागि काम खोज्न थाले।  आफु सँग केही अनुभव, अनी योग्यता रहेँकोले सजिलै आफु अनुकुल काम पनि भेटेँ,शहर छोडे पनि उसका याद छोडिएका थिएनन,घरीघरी आँखा रसाउँथे, कता कता बाट उछिट्टिएर मन उसकै वरपर जान्थ्यो, खै किन हो  यो एक बर्ष बित्दा पनि मैले उसलाई भुल्न सकेकी थीइन,उ अझै सधै मलाई याद आउँछ,एउटा मन थियो जुन मनमा अरु कसैको भईसकेको उ अझै थियो अनि छ, त्यसैले  कोही कसैको साथ लिनु उचित लागेको छैन, भोको बस्नु नपर्ने काम छ,बितेका दिन साथी छन,हेरौ अघी के हुन्छ...... भोली त कस्ले देखेको छ र? सुनेकी छु ''उ खुशी नै छ रे, अनी छिट्टै उसको घरमा कोही नयाँ मान्छे पनि आउँनेवाला छ रे।' 

6 comments:

  1. रमाइलो लाग्यो। लेख्ने जाँगर नमार्नुहोला।

    ReplyDelete
  2. आहा कति सुनदर कथा………………………………………..रोइ रोइ हाँसेको छु
    तिम्रो सम्झना मा पागल सरि बांचेको छु

    ReplyDelete
  3. 'हामी केहि समयका मात्र सहयात्री हौ भन्ने त हामीलाई पहिले पनि थाहा थियो,हामीले छुट्नु पर्छ पनि थाहा थियो अनि किन मन दुखाउछौ फेरी ?'
    हो, जति नजिक भएपनि हामी एक आपसमा एकदिन अलग हुनुपर्छ । संगै हिंडेका बाटाहरू छुट्टिन्छन् । जीवन सोचे जस्तो त कहाँ भर्इदिन्छ र ? निरन्तर तपार्इका यस्तै कथा पढ्न पार्इयोस् ।

    ReplyDelete
  4. 'हामी केहि समयका मात्र सहयात्री हौ भन्ने त हामीलाई पहिले पनि थाहा थियो,हामीले छुट्नु पर्छ पनि थाहा थियो अनि किन मन दुखाउछौ फेरी ?'

    ReplyDelete
  5. सुन्दर माला शब्दहरुका, भावना बोकेर बगेका ।।

    ReplyDelete
  6. शब्द संरचनामा कुनै खोट छैन तर कथा लामो समयसम्म भित्र मनमा रमरम गराउन असफल छ ..

    ReplyDelete