बालाई चिठ्ठी

आदरणीय बा,
सादर नमस्कार ।।
    समय जीवनको दैनिकी भएर आफ्नै रफ्तारमा कुदिरहँदा यो कुदाई एकैछिनलाई थाती राखेर तपाईंलाई यो पत्र लेख्दै छु। तीज आउँदै छ छोरीचेलीको चहलपहल बढ्दो छ । घरघरमा छोरीहरु माईती आउँद के कस्तो मिठो मसिनो ख्वाउने बाआमाहरुमा  सर-सल्लाह हुँदै होला। 
    यस पालीको तीजमा म घर फर्किन्न पाउँदिन जस्तो छ। बेला बखत आमा गुनासो गर्नु हुन्थ्यो '' पहिले पहिले बिहे गरेर दिएकी छोरी मात्र पराई हुन्थी अहिले त बिहे नगरेकी छोरी पनि भेट्न पाईदैन'' उहाँको गुनासो पनि ठिकै हो तर, बा यो काठमान्डौ दलदल रहेँछ फसे पछी निस्कनै नसकिने । आमालाई दु:ख मनाउ नगर्न भनिदिनुहोस् र 'दसैंमा पक्कै आउँछे रे छोरी' सुनाईदिनुहोला।   
                         आज मलाई किन किन मेरो बाल्यकालको याद आउँदै छ बा। सानी छदाँ म असाध्यै ओर्‍याहा थिए/अहिले पनि छु। बेला बेलामा तिनै उपद्रोको बदलामा आमाको पिटाई भेट्थे । तपाईं घरमा नहुनु भएको बेला म आमालाई घुर्‍क्याउदै भन्थे'पर्खनुहोस न भरे बा आए'सी बालाई भन्दिन्छु के'' यदी तपाईं घरमै हुनुहुन्थ्यो भने आँशु झरेका आँखा पुछ्दै म तपाईंकै नजिक पुग्थे सुक्सुकाउँदै, मलाई सधै आमाको गालि अनि पिटाईबाट बचाउनेमा पर्नु हुन्थ्यो तपाईं । काम बिशेष एक दिन मात्र पनि तपाईं घर बाहिर जानुहुन्थ्यो भने म असाध्यै नियास्रो मान्थे। मेरो न्याउरो अनुहारले आमालाई पनि नरमाईलो लाग्थ्यो,त्यसैले  भन्नुहुन्थ्यो  ''एई किन नुन खा'को कुखुरो जस्तो भा'कि? जा खेल्न, अर्को चोटि बा बाहिर जाने बेला तलाई पनि लैजान भन्दिउला किन रुन्चे हुन्छेस आईहाल्नु हुन्छ नि बा भरे सम्ममा  त,यसको कसैको नभए को बाउ....''  यी यस्तै के के भन्नु हुन्थ्यो म भेउ पाउँदिन थिए यती बुझ्दथे कि अर्को पल्ट बा बाहिर जानुहुदाँ म पनि उहाँ सँगै जान पाउँछु। त्यसै मख्ख पर्दथे,अब मलाई तपाईं कहिले आईपुग्नुहोला र अर्को पल्ट बाहिर जानुहोला भन्ने पर्खाई हुन्थ्यो। यी त भए म स्कुल थाल्नु भन्दा पहिलेका दिन ।
             कक्षा एक मा घर नजिकै को स्कुलमा नाम लेखाईदिँदै तपाईंले भन्नुभएको थियो ''दाई दिदिले पढेका छन् पढ्नु पर्छ, नपढे सबैले हेप्छन, दुख पाईन्छ।'' एक कक्षामा सिक्नुपर्ने क,ख मैले सिक्नु परेन कारण मैले क ख घरमै जानी सकेकी थिए,तपाईंले मलाई क ख, क का.. सबै सिकाईसक्नु भएको थियो। त्यसैले मैले त्यो बर्ष एक कक्षा नपढी म र मेरा भाईहरु(दाईको छोराहरु)मिलेर घर नजिकैको खोल्सामा स-साना माछा समात्दै  छोड्ने,खोल्साको सानो पानी माथि बनमारा र सिमलीका सिर्कनाको पुल बनाउदै दिन बिताउँदै साँझ घर फर्केर भोक लाग्यो कि भोक लाग्यो भनेर तपाईंलाई सताउदैमा बिताए। अर्को साल तपाईंले फेरी दुई कक्षामा मेरो नाम लेखाईदिनुभयो । त्यो साल देखी म निरन्तर स्कुल जान थालेँ ।  
             प्राय: शनिबार घरबाट धान,गहुँ,मकै जे जे हुन्छ बोकेर गाउँका दाई,दिदी अनी भाउजुहरु देवीघाट जाने चलन थियो। बिहान घरबाट हिँडेर किनमेल अनी भेटघाट सकेर पुन:साँझ घरै फर्किन भ्याईन्थ्यो ।  बा तपाईंले पनि गाउँका दाईहरुलाई ज्याला दिएर धान बोकाई आफु सँगै गएर बेच्नु हुन्थ्यो अनी घरका लागि आवश्यक नुन,तेल,चिनी,चियपत्ती,जिरा,धनियाँ, सेतो(युरिया)मल तिनै दाईहरुलाई बोकाएर साँझ फर्कनु हुन्थ्यो। जब मैले म पनि जान्छु भनेर जिद्धी गर्न थाले एकाध पटक त हिंड्न सक्दिनस केटाकेटी छेस अहिले ठुली भए'सी लैजाउला भनेर टार्नु भयो तर मेरो जिद्धीपन अनी ''दिन भरी नुन खाको कुखुरो झै झोक्र'रार बस्छे सक्दिन म त्यो हेर्न लैजानुहोस्'' आमाले भन्नुभएकै भरमा स्कुल छुट्टीको बेला तपाईं कतै जाँदा  म पनि सँगै जान थाले । हाम्रो बजार अनी आफन्त भेटघाटका लागि भनेकै त्यै देवीघाट न हो , उस्तै परे कहिले कहीँ बट्टार र त्रिशुली सम्म ।
           देबीघाट जान मरिहत्ते गर्नुको पछाडि एकाध कारणहरु छन जमध्ये प्रमुखत:मेरो त्यो उमेरका साथीहरु कोहीँ जान्थेनन,दाईदिदीहरुले बरफ,दुनोट खाएको,मटर देखेको कुरा खुबै सुनाउनु हुन्थ्यो स्कुलमा हरेक आईतबार । जब तपाईंसँग म देबिघाट जान थालेँ दाईदिदीले भने झै मटर दुनोट त थियो तर ती भन्दा पनि भिन्न कुरा मैले तपाईबाट जान्ने,बुझ्ने मौका पाए। यसरी  मेरो बाल्यकालबाट सुरु भएको तपाईंसँगको देबिघाट यात्रा मैले SLC सकेर काठमान्डौ नपसे सम्म निरन्तर थियो ।
           देबिघाट जादाँ आउँदा बाटोमा तपाईंले रामायाण,महाभारत,गीताका अनेकौ श्लोक र कथाहरु सुनाउनु हुन्थ्यो । बिच बिचमा अनेकैँ कुरा सोध्थे तपाईं सके सम्म मलाई बुझाउनु हुन्थ्यो। त्यस्तैमा एक दिन मैले तपाईंलाई सोधेको थिए ''बा तपाईंले कती कक्षा पढ्नु भएको ? अनी कती कक्षामा पुगेर मैले पनि यो कथाहरु पढ्ने ?'' हाँस्दै तपाईंले भन्नु भएको थियो-''यो कथाहरु स्कुलाँ तिमेर्ले पढ्न पर्दैन  यो त घरमै पढ्ने हो'' 
''अनी तपाईंले पनि घरैमा पढ्नुभा'को हो र?? स्कुलै नगई?? त्यसो भए म पनि स्कुल जान्न घरैमा पढ्छु के'' मैले कती जिद्धी गरेकी थिए है बा ।
      ''हाम्राँ पाला अहिले जस्तो जता ततै स्कुल थिएन,पढ्न गुरुकोमा जानु पर्थ्यो त्यो पनि जगंलमा, गए पछी १२/१३ बर्ष घर फर्किन पाईदैन थियो, म बाको कान्छो छोरो अनी फेरी साना अली बिरामी धेरै हुने थिए रे अनी बाले मलाई घरैमा पढाउनु भा' अहिले त नजिकै स्कुल छ बिहान् गए बेलुका आउँन पाईन्छ, किन पढ्न नजाने'नी ?? जानुपर्छ घरमा पढ्ने कुरा म पढाउँला स्कुल पनि पढ्नु हुन्छ ??''  तपाईंले यती भने पछी  बल्ल मैले 'हुन्छ' भनेकी थिए ।'' यस्तै कुरा गर्दै  ब्यान भरी अनी दिन भरीको बाटो कटाउँदै साँझ घर पुगिन्थ्यो ।
        हजुरबा बिख्यात पण्डित  हुनुहुन्थ्यो र त उहाँले नै तपाईंलाई कतै नपठाई आँफैले घरैमा पढाउनुभयो। त्यसरी पढेकै भरमा तपाईंले गीता,चण्डी,बेद जस्ता थुप्रै ग्रन्थ पढ्नु भयो र मलाई पनि  महाभारत,रामायाण, सत्यनारायणको पूजामा सुनाईने कथा, तीजको ब्रत बसेका आमादिदीहरुलाई सुनाईने कथा,ठुलो एकादशीको कथा,शिवरात्रीको कथा अनी अरु थुप्रै कथाहरु सुनाउनु भयो, जुन आज सम्म पनि मलाई जस्ताको त्यस्तै याद छ ।
          पाखो बारी धेरै भएकाले हामीलाई बनमा घाँस दाउरा खोज्न जानु आवश्यक थिएन। र पनि बनमा कटुस,तीँदु,जामुन,बनतरुल,थाकल,चिउरी आदी पाईन्छ भन्ने सुनेपछी मैले तपाईंलाई यी सबैको बारेमा सोधेकी थिए।मौसम अनुसार यी सबै  कन्दमुल बनमा पाईन्छन्  भन्नु भए पछी मैले तपाईंलाई सताउनु सताए बन लगिदिनुहोस् भनेर। ''आ नानी कती कचकच गर्छेस,धेरै नचेप्री है अहिले ठ्याम्म बजाउला नि भन्नु हुन्थ्यो'' तर मैले मान्ने भा'पो,भातै छोड्दिन्थे। अनी, नलगीदिएरै सुखै थिएन।दिन भरी बन डुलेर देखे जत्ती कन्दमुल लुगामा पोको पार्दै, तपाईंलाई कथा भन्न लगाउँदै घर फर्के पछी मलाई लाग्थ्यो, मेरा बा'ले नजान्नु भएको,नदेख्नु भएको केही छैन होला। म मनमनै मख्ख पर्थे तपाईं सम्झेर अनी स्कुलमा फुर्ती पनि लाईहाल्थे,कि म त बा सँग यहाँ यहाँ गए, यस्तो खाए, यस्तो कथा सुने आदी आदी, साथीहरु चुकचुकाउथें कारण उनिहरु आफ्ना बा सँग खुब डराउथे। यदाकता भन्थे पनि कि ''मलाई त बा'ले पिटेँ''मा छक्क पर्थे तिनिहरुका कुरा सुनेर । अनी मख्ख पर्थे आफ्ना बा सम्झेर। 
               गाउँमा कहीँ पूजा हुँदा या कसैको बिहेँ हुँदा मेरा साथीहरु बाले जानै दिनुहुन्न के जानु? भन्थे उनिहरुमा जान नपाउनुको पिडा हुन्थ्यो। मलाई भने जान मन लाग्दा रोकतोक थिएन। तर,म जानै चाहन्न थेँ। कतै आफन्त कहाँ कुनै कार्जे पर्दा आमाले ''हिँड/जा भन्नु हुन्थ्यो'। आमाले कर गर्नुहुँदा तपाईंले नै ''छोड्दे न त छोड्दे अब जान्न भने नजाओस किन कर गर्छेस'' भनेर मलाई ढाडस दिनुहुन्थ्यो ।  बा त्यती बेला मलाई लाग्थ्यो साँच्चै यो दुनियाँमा तपाईं जत्ती जाती कोई छैनन। आमा सधैं भन्नुहुन्थ्यो/भन्नुहुन्छ यी बाउ छोरी सँग मेरो केही लाग्दैन,एक मुख छन। हुन पनि सबैले भन्थे यो त बाउ गोता गएकी छ,रुप,रङ ह्याँ न दुरुस्तै बाउ'' यस्तो सुन्दा म निक्कै मख्ख पर्थे म त मेरो बा जस्तै छु सम्झेर।
                    बा तपाईं मेरो लागि जिउँदो विश्वविद्यालय हुनुहुन्छ। मैले तपाईंबाट धेरै सिक्नु छ। सानै देखीको एउटै धोको तपाईं जस्तै बन्ने जुन पुरा गर्न तपाईंले नै मलाई सहयोग गरिरहनु भएको छ। तपाईंकै प्रेरणाले गर्दा मैले पढाई सुरु गरेपछि अहिले सम्म असफलता भोग्नु परेको छैन।हिजो आज पनि जब मलाई केही अप्ठ्यारो पर्छ सबै भन्दा पहिले मैले सम्झने व्यक्ती  तपाईं नै हुनुहुन्छ। त्यस पछी आमा,दिदी,साथि आदी आदी....
         यो शहर ज्यादै निर्दयी छ बा, यहाँ छेउमा पर्दा लडिएला भनेर समात्ने हात पाईदैन,उल्टै घचेट्छन। यहाँ जरुवाको जस्तो चिसो र मिठो पानी पाईदैन बा, यहाँ त तातो पानी पाईन्छ पोटास मिसाएको, त्यै पनि दिनै कहाँ आउँछ र हप्ता दिन कुर्नु पर्छ पानी आउँन । मेरो मन यो शहरमा अडिएला जस्तो छैन बा । हरेक रात सपनामा गाउँ पुग्छु अचेल।त्यै दाबिले डाँडो,कार्तिके पखेरो, खरे खोल्सो,खोरियो र भारीबाध्ने पाखो झल्झली सम्झन्छु। तपाईंले दिनुभएको गुरु वचन भुलेकी छैन अनी भुल्ने दुसाहस पनि गर्ने छैन।
                       फेरी एक पटक चिउरी र तिदुँ फल्ने बेलामा तपाईंसँगै बन चहार्नु छ। बन चारेर गोडा दुख्यो भन्दा आमाको गाली खाने मन छ। डल्ले गोरु,लक्ष्मीगाई,अनी सिँगारी बाख्रो लिएर गोठालो गई  व्याधाको कथा(शिवरात्रीको पूजामा भनिने कथाको पात्र),चन्द्रमाको कथा (चन्द्रमामा दाग लागेको प्रसँगसँग जोडेर भनिने कथा विशेष गणेश चौथीको महत्त्व सँग जोडेर हेरिन्छ ),सुगाको कथा(रामायाणको एक प्रसँग) सुन्ने मन छ । गीता सार फेरी सम्झनु छ । छोरीले बिर्सी अब हुर्केपछी भने झै लाग्दो होला तपाईंलाई मैले केही बिर्सेंकी छैन बा, बाल्यकाल देखी अहिले सम्मका एक एक घटना याद छ । यो काठमाडौँले मलाई अल्मल्याएको मात्रै हो । पढाई पनि अब त दुई बर्ष मात्रै बाँकी छ । सकेर छिट्टै गाउँ आउने छु बा म । ल त बा आजलाई यति नै.... बाँकी अर्को चिठ्ठीमा...
                                                                                                 तपाईंकी कान्छी छोरी,

तादीको किनार


कालान्तर देखी
आफ्नै छाती चिरेर,
सागर भेट्ने उत्कट अभिलाषा बोकी
बगेकी सरीताको प्रतिक्षामा
बसिरहेँछ उसको प्रेमी
तादीको किनार ।।

क्रुद्ध अनी निर्दयी बन्दै,
लछारिदै पछारिँदै
भर्खरै आफ्नो नवजात सन्तान गुमाएकी
बिक्षिप्त आमा झैँ,
भेटे जत्ती भुईफुलहरु पोल्टामा सँगाल्दै
अनन्त यात्रामा निस्केकी सरीताको पर्खाईमा
बसिरहेँछ उसको प्रेमी
तादीको किनार ।।

आँफैले बनाएका गोरेटाहरु
अन्जान बन्छन,
एकहोरो जीवन यात्रामा
फर्किने सम्भावनै छैन,
सबै सबै बुझेर पनि,
यथार्थता बोध गरेर पनि
कुन्नी किन ?
बसिरहेँछ उसको प्रेमी
तादिको किनार ।।

कालान्तर देखी
आफ्नै छाती चिरेर,
सागर भेट्ने उत्कट अभिलाषा बोकी
बगेकी सरीताको प्रतिक्षामा
बसिरहेँछ उसको प्रेमी
तादीको किनार ।।

तीर हुन कि आँखा सानु


तीर हुन कि आँखा सानु मुटु माझै,प्रहार भयो ।।
यो मनमा चैत लाग्दा त्यता बसन्त,बहार भयो ।।

फर्की फर्की हेर्दा हेर्दै यो मन त्यतै सार्‍यौ कहिले ?
आफ्नै मन आफ्नो भन्ने आधार् नै निराधार भयो ।।

जे जे भनुन् दुनियाँले,जती काट्छन काटुन कुरा,
सत्य मलाई तिम्रो माया हिउँदको पाहार भयो ।।

नफर्किने गरी आउ है,बस्दिन म अब एक्लै,
भेटेँ जब तिमी डुलन्ते मनको संहार भयो ।।

तीर हुन कि आँखा सानु मुटु माझै,प्रहार भयो ।।
यो मनमा चैत लाग्दा त्यता बसन्त,बहार भयो ।।


झरीले जोडेको सम्बन्ध


        यी दिनहरुमा लगातार झरी परिरहँदा हाम्रो  भेटघाटका सुरुवाती दिनहरु याद आउँदै छन । तीन बर्ष अघिको यही भदौरे झरीमा हाम्रो भेट भएको थियो । लगातारको झरीले दिनहरु निथ्रुक्क भिजेका थिए । थोरै बोल्ने अनी चुपचाप बस्न रुचाउने रहेछौ तिमी मलाई भने बोलिरहनु पर्ने । एकै भेटमा तिमीलाई अत्त्याएकी थिए क्यारे धेरै कुरा एकै चोटि सोधेर, प्रश्न माथि प्रश्न ;) तिमी योजनाबद्ध रुपमा मलाई भेट्न आएको भए पनि तिम्रो आगमन मेरो लागि भने अकस्मात नै थियो । अनजानैमा एकै गोरेटोको सहयात्री बनेका हामी कयौ पटक कयौ दोबाटोमा अल्झिएका छौ कि कुन बाटो सहि र कुन गलत छुट्याउनको लागि ।
भावनामा डुबुल्की मार्दा मार्दै स-साना कुरामा पनि धेरै मन दु:खाउने मैले तिम्रा कयौँ कुराहरुमा मन दु:खाएकी छु यो सत्य हो । अनी मेरो अतिशय भावुकताले तिमीले आफ्नो मन दु:खाएको पनि सत्य हो । यी दु:खाईहरु माझ पनि अनेकौ सुखद अनुभवहरु सगाँल्दै, प्रतिकुल परिस्थितिमा एक अर्कोलाई साथ दिँदै आज हामी जिन्दगीको यो मोड सम्म आईपुगेका छौ ।  आफ्ना आफन्त भए पछी तिनै बिच एउटा न एउटा शत्रु भएर निस्किनु नौलो त पक्कै होइन । हाम्रो विश्वाश को डोरी यती कसिलो बन्यो कि कसैले जती नै प्रयास गरे पनि ति हामी अनी हाम्रो सम्बन्धको बिचमा टिक्न सकेनन ।
   यो झरीले त तिम्रो त मेरो सम्बन्धलाई झन बलियो पार्छ । कती झरीमा सँगै रुझेका छौ भने कती झरीमा एक अर्कोबाट टाढिनुको पिडाबोध पनि राम्रै गरेका छौ । बितेका दिन बितिसके, आज फेरी त्यस्तै झरी परेको छ जुन दिन हामी दिन भरी रुझेका थियौ । भिज्दै कफी पिउदै र पानी सँग चल्दै जिस्केका पलहरु स्मरणमा अझै ताजा छ अनी म यसलाई सधैं ताजै राखिरहँन चाहन्छु  मन भरी अनी मुटुभरी सधैं सधैंलाई।।
यो बर्षको भदौरे झरी झर्न सुरु गरिसकेको छ । तिमी फर्कन्छौ यो झरीमा ? चाडै फर्कनु...रुझ्न मन छ मन भरी अनी मुटु भरी ।

झरी र उ

        लगातार झरी परेको पनि आज तीन चार दिन भईसक्यो, यो कालो अनी मैलो शहर पनि यही झरीले आफ्नो कुरुप अनुहार धोएर स्निग्ध बनिसक्यो । तर, म भने बिगत तिरै अल्झदै छु । पानी परेको दिन मेरो मन काठमान्डौमा बस्नै मान्दैन, सम्हाल्दा सम्हाल्दै पनि खै कुन्नी कती खेर फुत्केर गाउँ अनी बिगत तिर हराईहाल्छ । यसरी लगातार पानी पर्दा घरीघरी थाहै नपाई गाउँ पुग्छ,गाउँसँगै ती एक जोडा आँखाहरु अझै पनि भुल्न सकेकी छैन, सबैबाट लुकाएर खै कुन्नी कसरी म सम्म उ आफ्ना चोर आँखा ल्याउथ्यो।जब जब म झरीमा रुझ्दै, निथ्रुक्क भिजेका रुख सँग जिस्कदै हिँडिरहेँकी हुन्थे उ नजिकै बाट मलाई नियाल्दै गरेको पाउथेँ । हाम्रो गाउको त होइन क्यारे,यदाकदा उ हाम्रो गाउँमा झुल्कन्थ्यो । जब जब म उसलाई म नजिक भएको आभाष पाउँथे त्यो झरीको बेला मात्रै हुन्थ्यो । ''पानीमा धेरै नभिज्नु है झट्टै घर फर्की, यो केटीलाई मैले नसक्ने भए उसै त खोकी लाग्दै छ पानी पर्‍या यसलाई देख्नै हुँदैन'' आमा यस्तै के के भनेर मलाई कराईरहनु हुन्थ्यो म उहाँको कुर नसुने झैँ घर नजिकैको चौर र पाखो तिर हिँडिहाल्थे ।
           कहिलै सम्मुख नपर्ने तर नजिकै बाट मलाई नियाल्ने उसलाई मैले उती वस्ता गरिन,केटाकेटीबेला न थियो, चकचके मलाई पानी अनी भिजेका रुख सँग जिस्किदै कहाँ फुर्सद फेरी उ को हो? किन त्यसरी मलाई चियाउँदै छ? भन्ने प्रश्न पनि मेरो मन मस्तिष्कमा आएन, यदि आएको हुँदो हो त पक्कै उसलाई केही सोध्थे होला । अहिले सम्झदा लाग्छ म फेरी त्यहीँ क्षणमा पुग्न पाए, त्यहीँ दुई नजर फेरी कतै नजिकैबाट मलाई चियाईरहेँको आभाष पाएँ.... म उसलाई पक्रिन्थे.. । तर, ति त बिगत भए जुन फेरी फर्किन असम्भव छ । अनायासै गाउँ पुग्छु, लगातार एकनास पानी पर्दा, आमाले कराउँनु हुँदा हुँदै उहाँलाई नटेर्दै त्यै पाखो र चौर पुग्छु, सधैं लुकेर हेर्ने उसलाई आज सम्मुख पाउँछु.... उसलाई केही सोध्न नपाउँदै फोन बजिदिन्छ, मेरो कल्पना यथार्थतामा नमज्जाले पछारिन्छ अधमरो हुने गरी... उफ यो कस्तो तर्कना...