झरी र उ

        लगातार झरी परेको पनि आज तीन चार दिन भईसक्यो, यो कालो अनी मैलो शहर पनि यही झरीले आफ्नो कुरुप अनुहार धोएर स्निग्ध बनिसक्यो । तर, म भने बिगत तिरै अल्झदै छु । पानी परेको दिन मेरो मन काठमान्डौमा बस्नै मान्दैन, सम्हाल्दा सम्हाल्दै पनि खै कुन्नी कती खेर फुत्केर गाउँ अनी बिगत तिर हराईहाल्छ । यसरी लगातार पानी पर्दा घरीघरी थाहै नपाई गाउँ पुग्छ,गाउँसँगै ती एक जोडा आँखाहरु अझै पनि भुल्न सकेकी छैन, सबैबाट लुकाएर खै कुन्नी कसरी म सम्म उ आफ्ना चोर आँखा ल्याउथ्यो।जब जब म झरीमा रुझ्दै, निथ्रुक्क भिजेका रुख सँग जिस्कदै हिँडिरहेँकी हुन्थे उ नजिकै बाट मलाई नियाल्दै गरेको पाउथेँ । हाम्रो गाउको त होइन क्यारे,यदाकदा उ हाम्रो गाउँमा झुल्कन्थ्यो । जब जब म उसलाई म नजिक भएको आभाष पाउँथे त्यो झरीको बेला मात्रै हुन्थ्यो । ''पानीमा धेरै नभिज्नु है झट्टै घर फर्की, यो केटीलाई मैले नसक्ने भए उसै त खोकी लाग्दै छ पानी पर्‍या यसलाई देख्नै हुँदैन'' आमा यस्तै के के भनेर मलाई कराईरहनु हुन्थ्यो म उहाँको कुर नसुने झैँ घर नजिकैको चौर र पाखो तिर हिँडिहाल्थे ।
           कहिलै सम्मुख नपर्ने तर नजिकै बाट मलाई नियाल्ने उसलाई मैले उती वस्ता गरिन,केटाकेटीबेला न थियो, चकचके मलाई पानी अनी भिजेका रुख सँग जिस्किदै कहाँ फुर्सद फेरी उ को हो? किन त्यसरी मलाई चियाउँदै छ? भन्ने प्रश्न पनि मेरो मन मस्तिष्कमा आएन, यदि आएको हुँदो हो त पक्कै उसलाई केही सोध्थे होला । अहिले सम्झदा लाग्छ म फेरी त्यहीँ क्षणमा पुग्न पाए, त्यहीँ दुई नजर फेरी कतै नजिकैबाट मलाई चियाईरहेँको आभाष पाएँ.... म उसलाई पक्रिन्थे.. । तर, ति त बिगत भए जुन फेरी फर्किन असम्भव छ । अनायासै गाउँ पुग्छु, लगातार एकनास पानी पर्दा, आमाले कराउँनु हुँदा हुँदै उहाँलाई नटेर्दै त्यै पाखो र चौर पुग्छु, सधैं लुकेर हेर्ने उसलाई आज सम्मुख पाउँछु.... उसलाई केही सोध्न नपाउँदै फोन बजिदिन्छ, मेरो कल्पना यथार्थतामा नमज्जाले पछारिन्छ अधमरो हुने गरी... उफ यो कस्तो तर्कना...

1 comment:

  1. उफ यो कस्तो तर्कना...
    रमाईला लागे र सोचे सायद "पक्कै उसलाई केही सोध्थे होला " भए

    ReplyDelete