तादीको किनार


कालान्तर देखी
आफ्नै छाती चिरेर,
सागर भेट्ने उत्कट अभिलाषा बोकी
बगेकी सरीताको प्रतिक्षामा
बसिरहेँछ उसको प्रेमी
तादीको किनार ।।

क्रुद्ध अनी निर्दयी बन्दै,
लछारिदै पछारिँदै
भर्खरै आफ्नो नवजात सन्तान गुमाएकी
बिक्षिप्त आमा झैँ,
भेटे जत्ती भुईफुलहरु पोल्टामा सँगाल्दै
अनन्त यात्रामा निस्केकी सरीताको पर्खाईमा
बसिरहेँछ उसको प्रेमी
तादीको किनार ।।

आँफैले बनाएका गोरेटाहरु
अन्जान बन्छन,
एकहोरो जीवन यात्रामा
फर्किने सम्भावनै छैन,
सबै सबै बुझेर पनि,
यथार्थता बोध गरेर पनि
कुन्नी किन ?
बसिरहेँछ उसको प्रेमी
तादिको किनार ।।

कालान्तर देखी
आफ्नै छाती चिरेर,
सागर भेट्ने उत्कट अभिलाषा बोकी
बगेकी सरीताको प्रतिक्षामा
बसिरहेँछ उसको प्रेमी
तादीको किनार ।।

4 comments: