मेरी बिन्नी, सदा झैँ माया ।
तिमी त पक्कै आराम छ्यौ होला, हेर न मलाई पनि तिम्रो मायाले बिसञ्चो हुन दिएको छैन ।
यहाँको चहलपहलले लाग्दै छ फेरी दशैँ आउँने बेला भयो । तर, मलाई के दशैँ के तिहार । मेरो दुनिया सिमित भएको छ बिन्नी अचेल । संसार भनेकै यही अँध्यारो कोठा । मैले यहाँ तिन दशैँहरु बिताईसकेँ, यो चौथो हुनेछ र अरु मेरा कैयौँ दशैँहरु यहाँ यसरी नै बित्नेछन । अनि थाहा छ बिन्नी, मैले हरेक दशैँमा तिमीलाई एउटा पत्र लेख्ने गरेको छु । तर अफशोच! तिमीसम्म यी पत्रहरु पुराउन कसरी सकुँला र मैँले ।
बिन्नी, जब जब दशैँको चहलपहल सुरु हुन्छ, मलाई त्यसै बैराग्य लागेर आउँछ । त्यो अँध्यारो दिनको झ-झल्कोले यो मन अझै पनि चिरा चिरा हुन्छ । अहिले लाग्छ त्यो दिन तिमीले भनेको नमानेर म तिम्रो घर नगएको भए.... । त्यस्तो हुन्थ्यो त आज यो दिन आउँदैन थियो होला है । हुन त ''हुने हुनामी टर्दैन'' भन्ने भनाई पनि छ, त्यै पनि के हुन्थ्यो के हुन्थ्यो झैँ लागिरहन्छ । मन भन्नु भुसमा लागेको आगो रहेछ बिन्नी,आज त्यही आगोमा दिन दिनै पोलिएको छु म ।
बिन्नी, हामीले एक अर्कालाई गरेको अगाध माया नै हाम्रो लागि अभिशाप सिद्ध होला भन्ने हामीले कसरी सोच्थ्यौ र है । स्कुल देखी सुरु भएको हाम्रो सहयात्रा क्याम्पसका दिन सकिन लाग्दा मेरो पारिवारिक अवस्थाको कारण मैले पढाई पुरा नगर्दै खाडी भासिनु पर्दा मात्र छुटेको थियो । तिमी आमाबाबुकी एक्ली छोरी अनि मेरी प्यारी बिन्नी भएर हामी सबैको सपना साकार गर्न पढ्दैँ थियौ । आफु परदेशी बने पनि तिमी पढ्दै थियौ । यसर्थ; म खुसी थिए । भौगोलिक रुपमा हामी टाढिए पनि हाम्रो मन टाढिएको थिएन नि है । तिम्रा लामा लामा मेलहरु पढ्दा म खानाखाने समय सकिएर आफु भोकै परेको सम्म भुल्दथें । कती मायालु हुन्थ्यो तिम्रो लेखाई । हरेक शब्द शब्दमा तिम्रो उपस्थिती प्रष्टै देखिन्थ्यो ।
घरमा तिम्रो बिहेको कुरा हुँदा तिमीले मेरो बारेमा बाबुआमालाई भन्दा उहाँहरुले हाम्रो बिहे हुन सक्दैन भन्नु स्वाभविकै पनि थियो । सामाजिक,आर्थिक असमानताहरु अझै पनि हाम्रो समाजबाट पुरै कहाँ हट्न सकेको छ र बिन्नी । परिवारकी एक्ली छोरी तिमीले आमाबाबुको ईच्छा बिपरित बिहे नगर्ने भनेर त मलाई क्याम्पसका दिनमै भनेकी थियौ । यसो भन्दा तिमीमा एउटा अर्को विश्वाशसँगै थियो 'बाबुआमालाई मनाउन सक्छु' भन्ने । तिमी आफ्नो विश्वाससँग त्यही दिन हार्यौ जुन दिन बाबुआमाले मलाई स्वीकार्नु भएन ।
कती दु:खी थियौ है त्यो दिन तिमी । तपोबनको एकान्तमा तिमी खुब रोएकी थियौ । म न रुन सकेँ न तिम्रो आँशु पुछ्न नै । थाहा छ बिन्नी जब मनमा गहिरो चोट पर्दोरहेछ नि आँशुहरु आँखामै सुक्दा रहेछन, झर्न नसकेर । त्यै भएको थियो त्यो दिन मलाई । हातगोडा लगलग कामेका थिए,मनमा गाँठो परेको जस्तो भएको थियो । चिटचिट पसिना र शरीरमा कम्पन लिएर मैले बल्लतल्ल सुनेको थिए तिमीले "म बाबुआमाको चाहना अनुसार अरु कसै सँग बिहे गर्दैछु,मलाई माफ गर" है भनेकी । बिन्नी तिमीले माफी किन माग्नु पर्थ्यो र? तिमी पनि त दुखेकी थियौ नि होइन र? तिम्रो उदासी पनि लुकेको त थिएन नि मबाट ।
त्यसदिन साँझ घर फर्किएर म खुब रोएको थिएँ । तिम्रो उदासीले मेरो उदासिनता झन् बढ्दै थियो । होस हराए जस्तै भएको थिए । रात कसरी कट्यो थाहै भएन । बिहान तिमीले नै घरमा आएर झक्झक्याएर उठाएकी थियौ । के भन्ने के नभन्ने, अनी के गर्ने के नगर्ने अलमल्ल परेको थिए या अर्थबेहोशीमा थिएँ । तिमीले आफ्नो उदासी अनि आँशु कहाँ लुकाएर आएकी थियौ बिन्नी त्यो दिन?अघिल्लो दिनको उदासीको शेष सम्म थिएन तिम्रो अनुहारमा । उही क्याम्पस पढ्दा खेरी कि बिन्नीलाई सामु पाएर म झनै अवाक्क परे । ''के सुतिराखेको, उठ फ्रेश हौ, सरप्रईज छ तिम्रो लागि'' तिम्रो यो वाक्यले मर्दै गरेको रहरहरु पुन: ब्युँझन खोजे । मनमनै सोचेँ रातभरी रोएरै भए पनि बाबुआमालाई मनाईन् कि ?
उठेर घरबाट निस्किएँ । तिमीले फटाफट स्कुटर स्टार्ट गर्दै ''बस'' भन्दा यन्त्रवत हुँदै बसेँ । तिमीले स्कुटर घुमाएर सिधै आफ्नै घर तर्फको बाटो लियौ । अघि ब्युँझेका आशाहरुले जरा हाल्दै गए एकातिर भने अर्कातिर मनभित्र एक तमासाको चिसो पस्यो । कतै केही नराम्रो हुने पुर्वाभाष थियो सायद । सुनसान थियो तिम्रो घर । घरमा कोही नहुँदा तिमीले मलाई किन आफ्नो घर लग्यौ होला । यती सोच्दा नसोच्दै तिमीले भन्यौ 'तिमी बस्दै गर,म एकैछिनमा आउँछु । '' मलाई तिम्रो कोठामा पुर्याएर तिमी त्यहाँबाट निस्कियौ । भाव शुन्य अनि विचार शुन्य बनेर म मुर्तिवत तिमीले जहाँ छोडेर गएकी थियौ त्यहीँ जड भएँ । खै कुन्नी कती बेरपछी भर्खरै नुहाएको कपाल सहित तिम्रो अर्थनग्न उपस्थितिले म भित्र हलचल मचायो । केहिपछी मात्र आफुलाई होसमा पाएँ ।
''श्लोक, मेरा बाबुआमा मसँग खुसी हुनुहुन्छ,कारण मैले उहाँहरुले भनेझैँ बिहे गर्न तयार भएँ । म मेरा बाबुआमाको चाहना अनुसार कहाँको को हो, को हो सँग बिहे गर्दैछु । तिमीलाई अनि आफैलाई धोका दिन म चाहन्न । हामी एक अर्कालाई चाहन्छौ यो अकाट्य सत्य हो । हाम्रो बिहे हुँदैन यो अर्को त्यस्तै अकाट्य सत्य । यही सत्यहरु बिचको अर्को एक सत्य हो हामी एक अर्कालाई चाहन्छौँ । आज एकै दिन किन नहोस् तर तिमीमा पूर्ण समाहित हुन चाहन्छु । आजसम्म सजाएका सपनाहरु साकार पार्न चाहन्छु, भन के तिमी मेरो साथ दिन्छौ? '' म जहाँको त्यहीँ उभिएर निर्मिमेष तिमीलाई हेर्दै थिएँ । तिमीमा एकाएक आएको परिवर्तन अनी तिम्रो फेरिएको रुप तर त्यो रुपमा न त कुनै उग्रता थियो न त रोष नै, थियो त केवल सविनय अनुरोध र चाहना मात्र ।
बिन्नी,हाम्रो प्रेम आत्मिक थियो यसमा दुई मत छैन । तर, त्यसरी बन्द कोठामा तिमीले अर्धनग्न अवस्थामा आफुलाई मप्रति समर्पण गर्यौ । म भित्र हुण्डरी मच्चियो । सायद आफुलाई सम्हाल्न सकिन न त तिमीलाई सम्हाल्न । न आफ्नो चाहना मेटाए न तिम्रो । समर्पणको खातिर तयार रहेकी तिमीलाई........मैले नजिकैको फूलदानीले टाउकामा कुन बेला कसरी हान्न भ्याएँ...हेर त बिन्नी जीवन कती नाटकीय रहेछ ।
यो दुनियाँ भुलेर म तिम्रो दुनियाँमा रमाउँन चाहन्छु बिन्नी,मलाई नभुल्नु है अनि पर्खनु पनि है,त्यतिन्जेलसम्म जब सम्म म आउँदिन ।
तिम्रो श्लोक