गन्थन २

हिजो आज बाटाभरि फुलेका नीला निला फूलहरुले बाटै निलाम्य छ, अझ बेलाबखत पर्ने पानीले सिनित्त पारेर पखालेको सडक भरी पानीमा रुझेँका निला निला फूल अझै शोभायमान देखिन्छ, यही मौसम त हो नि पोहोर, परार हामी एक अर्काको हात समाउदै हरेक साँझ तिनै फूलहरु सँग जिस्कदै खाली सडक भरी टहलिने.. तर आज समय कसरी उल्टियो थाहै छैन,एकै निमेशले हामी खोला वारीपारी भयौ....
      सधैं आफुले चाहे जस्तो हुँदो हो त मानीस किन सधैं आधा मात्र बाँच्दथ्यो होला र, के कती रहर अधुरा,अनी कती सपना सपनामै सिमित हुन्छन र पनि मान्छे बाँचेकै छ, यहाँ सबैको जीवन खोतलेर हेर्ने हो भने कुन कुनै अभाव,केही न केही कमी अवश्य पाईन्छ, तिनै जीवनहरु मध्यको एक जीवन बाँच्दै छु म, मेरो अभाव तिमी, मेरो जीवनको कमी तिमी, शायद तिमी हुँदो हौ त यो जीवन पूर्ण बन्दथ्यो कि झै लाग्छ कहिँलेकहीँ तर यो पुरा नहुने रहर....सबै पूर्ण भएर पनि आधा बाँचेकि छु म अचेल, तिमी सँग छुट्ट्नुको पिडा शायद अझै आलै छ यो मनभरी, खै किन हो किन दिन दिनै झन झन बल्झिँदै छ यो घाऊ, कती दिन यो घाऊ यै छातीमा लुक्छ हेरौँ...मन टुट्नु अनी साथ छुट्नुको पिडा तिमीलाई के थाहा र ? एउटा साथ नछुट्दै अर्को साथ जुट्यो तिमीलाई, भाग्यमानी तिमी एउटा अजम्बरी साथ पायौ...
        तिमी त त्यो दिन गयौ अनी फेरी फर्केर सम्म कहिलै हेरेनौ कि मेरो अवस्था के भयो,तिमिलाई म सम्म फेरी फर्कने मन भएन या मन हुँदा हुँदै पनि अनेकौ परिबन्दमा तिमी फस्यौ म के जानु...जब जब साँझ पानी पर्छ एकहोरो झ्याल बहिर हेर्दै टोलाउछु, पानीमा निथ्रुक्क भिजेका ति निला निला फूलहरु अनी  त्यो रातो
गुलाफको सौन्दर्यले म भुतुक्क हुन्छु, अँ हामीले हाम्रो प्रेमको सुरुवाती सँगै रोपेको रातो गुलाफ अब त हुर्की सक्यो,हामीले एक अर्कोलाई अङालोमा कस्दै त्यसै दिन भनेका थियौ नि 'यो गुलाफ सँगै एक अर्कोमा हामीले प्रेम रोपेका छौ,दिन दिन यो गुलाफ सँगै हाम्रो प्रेम पनि बढ्ने छ' तर अफशोच ! हाम्रो प्रेमले हुर्कने अनी फूल्ने मौका पाएन, तिमी त अर्कैको बगैँचामा फुल्यौ, यो गुलाफ मेरो बगैँचामा फूल्यो तर म कहीँ कतै कहिलै फूल्न सकिन...तिमीले त अर्को गुलाफ फेरी रोप्यौ होला,भरेली फूल पनि फूले होलान तर मैले त हामी दुईले रोपेको गुलाफ नै स्याहार,सम्भारमा यो जीवन बिताउने कसम त्यहीँ  गुलाफ सँग खाएकी छु...

कदमको रुख


एकनाश शिशिरे तुषारो
आँधि,हुरी र असिना
टन्टलापुर घाम,
सबै सधैं सहेर्
उही बर पिपलको छेउमा
त्यो बुढो कदमको रुख अझै
बसन्त कुर्दै छ !

तीन बर्ष भएछ
बसन्त नआएको,
उसका हाँगाहरुमा पात नफेरिएको,
बटुवाले उसको सिँयाल नपाएको,
आफ्ना हाँगाभरी सेता सेता फून नफुलाएको,
लटरम्मै खैरा फल नफलाएको,
अनी,
कुक्कु र जुरेली भोकै रहेँको !

त्यो क्षितिज पारीको परदेशीलाई
घरदेशको मिठो सुगन्ध,
स्वदेशी माया पुर्‍याउने रहर,
हरियै पात फेरेर,
भरेली फूलहरु फुलाउँदै,
बग्रेल्ती फल फलाएर !
कुक्कु र जुरेलीको भोक मेटाई,
थकित बटुवाहरु सुस्ताएर,
उनिहरुको सन्तुस्टी पूर्ण एक मुस्कान पाउन
लगातार को शिशिर बाट पनि हार नमानी
त्यो बुढो कदम अझै बसन्त कुर्दै छ !


एकनाश शिशिरे तुषारो
आँधि,हुरी र असिना
टन्टलापुर घाम,
सबै सधैं सहेर्
उही बर पिपलको छेउमा
त्यो बुढो कदमको रुख अझै
बसन्त कुर्दै छ !

गन्थन


        दिनै गन्ने हो भने त हाम्रो भेट भएको त्यस्तै दश महिना पुग नपुग भयो होला, तर यी हरेक महिनामा मैले कयौं बर्षमा नपाईने खुशी अनि दुख तिमी सँग साटेकी  छु... बारम्बारको भेटघाटले प्रेम निम्त्त्याउछ भन्ने सत्य रहेछ,  एक दुई भेटघाट नभई हामी बिच भएको बारम्बारको भेटघाटले कुन दिन अनि कहाँ देखि मैले तिमीलाई प्रेम गर्न थालेछु थाहा छैन, मन सँग मन मिले पछी साँच्चै नै दुनियाँको मतलब नहुने रहेछ, दिन बित्दै जादाँ हाम्रो भेट पनि बाक्लियो, कुनै दिन नदेख्दा खै कुन्नि कस्तो छटपटी हुन्थ्यो त्यो रात  अनिदै रहन्थे म ,तिम्रो उपस्थिति अनि साथ मलाई अतिनै प्रिय थियो ! नजिकैका रमणीय ठाउँ सायदै थियो हामी नपुगेको... कामबाट अलिकति फुर्सद पउनासाथै हामी कुदिहाल्थ्यौ एक न एक तिर... हामी स्वतन्त्र थियो एक अर्को बाट र पनि यसरी बाँधिएका थियौ कि  छुट्नु अब असम्भव झैँ लाग्थ्यो.. आगतको कल्पनाले म झसङ्ग हुन्थे, हाम्रो सहयात्रा हामीले सोचेरै, बुझेरै चार पाँच बर्षको लागि बाधेका थियौ अनि यी चार पाँच बर्ष एक अर्काको जस्तै प्रतिकुल  परिस्थितिमा पनि साथ दिने बचन पनि गरेका  थियौ.. दिनहरु सजिलै बित्दै थिए, कहिले एक अर्कोलाई घुर्क्याउने र कहिले फुर्क्याउने गर्दै ... तर सबै कुरा आफुले सोचे जस्तो कहाँ हुने रे'छ र... हामीले सहयात्रा गर्ने भनेको चार पाँच बर्षको एक बर्ष बित्न नपाउँदै हाम्रो सहयात्रा तोडियो... हामीले सल्लाह गरेका थियौ कि हामी चार पाँच साल बिहे गर्दैनौ,बिहे पछी यो स्वतन्त्रता कहाँ र ??  पछी आफु आफुले रोजेको मान्छे सँग बिहे गर्नेछौ, तर नियति हो या हाम्रो भाग्य, तिमीले जबर्जस्ती बिहे गर्नु पर्‍यो , यो बिहे बाट तिमी कति पनि खुशी छैन यो मलाई थाहा छ ... म अझ एक्लिएकी छु, हिजो आज दिन बित्दैनन जसो तसो कट्छन् मात्र... अब त हाम्रो भेट नभएको पनि धेरै भयो,कहिले कहीं लाग्छ यो सहयात्रा थाल्नु नै भुल थियो,मन हो साथ पाउने बानी लागे पछी , त्यै साथ खोज्नु यसको धर्म हो,, र पनि यो केहि महिनाको अन्तरालमा जुन जे अनुभव मैले समेटेको छु त्यो सधै मनमा अमीट रहने छ....
       तिमीले आफ्नो बचन पुरा गरेनौ म भन्ने छैन तिमीलाई, न त गुनासो नै छ... छ भने केवल आत्मीयता जुन कहिले कोहि सँग नभएको... तिमि जहाँ छौ सायद खुशी छौ,तिमीलाई जसको साथ मिल्यो  उसैको साथमा  तिमी र मैले गरेँ जस्तै सहयात्रा होला भन्ने मेरो ठम्याई....अनि तिम्रा ति स्वणीर्म रहरहरु जुन तिमीले कल्पना मात्र गर्थ्यौ पहिले, ति अब एक एक गर्दै पुरा होलान नि है... :) अनि पुरा पनि गर्नु... मेरा त दिनहरु यसै बित्दै छन् सायद छुट्नुको दुखाई अझै बाँकी नै छ... :( अझै पनि हरेक साँझ हामी जाने ठाउँ अनी घुमाई को यादमा बिताउदै छु... सँगै तय गरेका यात्राको बिचमा तिमि हरायौ र पनि म यात्रा नतोड्ने पक्षमा छु, हाम्रो सहयात्राको लागि छुट्याईएको पाँच मध्ये अबको झन्डै चार बर्ष मैले अर्को सहयात्री रोज्ने छैन... हुन त उतिखेरै पनि हामीमा एक अर्को सँग आफ्नो सारा जीवन बिताउने चाहना थिएन,अहिले पनि छैन.. र पनि यो छुटाई किन पीडादायी बन्दै छ मेरो लागि अलमल्लमा छु... हामीले एक अर्को सँग बिहे गर्ने,सँगै सारा जीवन बिताउने  सपना खै किन देखेनौ यति नजिक हुँदा पनि... एक सहयात्रीको रुपमै एक अर्कोलाई अपनायौ... आ-आफ्नो जीवन बाहेक पनि हामीले एक साझा जीवन बनायौ, जहाँ एक अर्कोको उपस्थिती अनिवार्य हुन्थ्यो... अनि त्यहिँ अनुसार चल्यौ.. तर अफशोच हाम्रो यात्रा पुरा भएन बिचमै यसरी छुट्नु पर्ला भन्ने कहिले सोचेका पनि त थिएनौ नि होइन र ?? सत्य भन्ने हो भने म खुसि छैन हिजो आज, तिमि सँगै गए झैँ छ खुसीहरू..... हुन त यो दुनियाँमा कोहीकसैले पनि कोहींकसैलाई सधैको लागि साथ दिन्छ सोच्नु गलत अनि भ्रम मात्र हो र पनि किन किन अचेल त्यसै त्यसै बित्दैछन् दिनहरु....तिम्रो खबर नपाएको पनि केहि दिन हुन लाग्यो,तिमीले नयाँ जीवन थालनी गर्यौ म असाधै खुशी छु र पनि म आफ्नो एक्लोपनले दुख्दै छु.... नियास्रो लाग्दै छ ति दिनहरु जुन फेरी कहिल्यै फर्कने छैनन... अलबिदा सहयात्री अब तिमीलाई नसम्झने प्रयास गर्नेछु....

गजल


सुखी बाँच्नु मलाई सधैं भुल्नु तिमिले
सजाउनु जीवन उतै फुल्नु तिमीले !!

पहिल्याई को आफ्नो,कता तिम्रो गन्तब्य,
झरे पछी आकाश जस्तै खुल्नु तिमीले!

फुल तिम्री प्रेयसी,फुल्न दिनु उन्लाई,
बाग बिच रक्षक बनी डुल्नु तिमीले !

दु:ख सुख आउँछ,जान्छ साथ नछोड्नु 
त्यस्ता सबै पलमा, सँगै झुल्नु तिमीले !

सुखी बाँच्नु मलाई सधैं भुल्नु तिमिले
सजाउनु जीवन, उतै फुल्नु तिमीले !!

गजल

जित्छु माया सोचेँ,आखिरमा हार भयो !
दोधारे पिरती,अब वार पार भयो !!

मायालु त्यो बोली,सँगै जिउने सपना,
मुटु रेट्ने  आज,खुकुरीको धार भयो !!

मन मौजी अनी,यत्रतत्र निस्फ्रिक्री भै,
डुल्यौ होला अब,भन्थ्यौ माया बार भयो !!

सस्तो ठान्यौ प्रेम,सस्तो भयो मन मुटु
अनमोल माया,तिमीलाई भार भयो !!

धोकेवाज मात्रै,भेटिन्न रे चोखो मन,
नलाउँनु माया,जीवनको सार भयो !!

जित्छु माया सोचेँ,आखिरमा हार भयो !
दोधारे पिरती,अब वार पार भयो !!

कथा ''एक संयोग ''


   उसको र मेरो भेट ईन्टरनेट संजालले नै गराएको हो, उ अर्थात सान सँग मेरो सधै अनलाइन भेट हुन्थ्यो, याहू , गूगल ले हामीलाई एक अर्को सँग निक्कै नजिक बनाएको थियो, हामीले प्रत्यक्ष भेटेका छैनौ भन्ने आवाष हाम्रो सम्बन्धमा कहिले पनि परेन , एक अर्काका  सामु  हामीले आफ्ना कुरा स्पस्ट रुपमै राख्ने भएकोले हो कि,हामीमा बिभेद कहिल्यै  कुनै कुरामा भएन, कुनै दिन कुरा गर्न मन लागेन त हामी सिधा एक अर्काकालाई भन्थ्यौ र मन लाग्दा घन्टौ सम्म गफ्फिन्थ्यौ, सधैं प्रायस: बेलुका कुरा गर्ने हामीहरु साँझ परे पछी एक अर्कालाई अनलाईनमा कुर्थ्यौ, आफ्नो दैनिक गर्नु पर्ने काम सकेर मात्रै हामी च्याटमा गफ्फिन्थ्यौ, काम सकेर अनलाईनमा कसले पहिले कसलाई कुर्ने भन्ने हामीमा एकखालको प्रतिस्पर्धा नै  हुने गर्‍थ्यो, यो प्रतिस्पर्धामा कहिले उ मलाई उछिन्थ्यो भने कहिले म उसलाई, सधैं झै एक दिन सबै काम सकेर साँझ अनलाईन कुरा गर्न भनि म्यासेन्जर साईन ईन गरेँ ,तर  उ आईपुगेको थिएन, सोचे 'आज त म फर्स्ट भए' एकछिन त कुरे, तर जस्तै ढिलो हुँदा पनि आईपुग्ने समय सम्म पनि उ नआईपुगेकाले भित्र भित्रै म छट्पटिन लागे,ईन्भिजिबल बसेर कहिलेकाहीं रिप्लाई नगरि  उ मलाई केही मिनेट सताउथ्यो, त्यस्तो हुँदा घुर्क्याउदै केही म्यासेज सेन्ड गरेपछी उ ''आए बाबा सरि नि त,सानलाई माफ गरिदेउ न है एक पटक, गल्ती भै'हाल्यो ,अब देखी सताउदिन, ल मैले कान पनि समाते'' भन्दै म्यासेज गर्ने गर्थ्यो,आज पनि कतै उ मलाई सताउदै त छैन भन्दै धेरै म्यासेज पठाएँ तर उताबाट कुनै रिप्लाई आएन, मन त्यसै त्यसै अत्तालिन लाग्यो ,मलाई मनको बाघले भित्र भित्रै सलक्कै निल्न लागिसकेको थियो, त्यतिकैमा नयाँ मेल आएको साईन कम्प्युटरले देखायो ''फ्रम'' भनेर उसको नाम पनि देखियो,खुशी,अत्त्यास र कौतुहलताले एकै चोटि छोप्यो, सधैं म्यासेन्जरमा आउने मान्छे आज किन मेल लेखेको होला?? केहीं काम परेको भए पनि भनेर निस्किन्थ्यो सधैं, आज त्यस्तो के भयो होला?? सोच्दा सोच्दै मेल पनि  खुल्यो,जसको थालनी यसरी थियो :-
 'सानु' ,
    नौलो लाग्यो होला सम्बोधन, किनकी आज सम्म मैले तिमीलाई नामले बोलाएको छैन कारण मलाई तिम्रो नाम थाहा छैन... न त तिमीले भन्यौं न त मैले नै सोध्न आवश्यक ठानेँ , सोचे नाममा के नै छ र,एक सम्बोधन न हो, मलाई 'सानु' प्रिय लाग्यो त्यसैले मेरो प्रिय मान्छेलाई यही नाम दिए, तिमीले मलाई 'सान' दिए जस्तै, तिमीले मेरो नाम, बसाई र कामको बारेमा कहिल्यै केहीं पनि सोधिनौँ, किन सोधिनौ, त्यो तिमीलाई नै थाहा होला,नाम बिहिन आई.डि. मा भेट भई यत्तिका  महिना (यसर्थ कि आजै हाम्रो पहिलो भेट सम्झे अनी मिती खोजे, हामी यो दुनियाँमा भेट्न थालेको पनि छ महिना लगभग पुरा भईसकेछ)एक अर्काको नाम अनि कुनै औपचारिक कुराकानी बिनानै हामीमा सधैं देखे बोलेको मनिष भन्दा बढी आत्मीयता स्थापित भएछ, दिन भरी के के गरियो बेलुका एक अर्कोलाई सुनाउनै हतार,आज सम्मको मेरो  हरेक हाँसो अनि खुशीमा सधैं तिम्रो साथ पाएको छु,अनलाईन मान्छे भेट्ने बेलामा मेल पाउँदा तिमी थोरै छक्क अनि धेरै आत्तिएकी हौली, नआत्तिनु है सानु, बिस्तारै यो मेल पढ त्यसपछी तिमीले मान्छे अनलाईन भेटिनुको साटो आज  किन मेल पायौ अन्तत: आँफै बुझ्ने छ्यौ !!
     सानु, हामीले एक अर्काको बारेमा कहिलै केही सोधेनौ, सायद सोध्थ्यौ र जान्थ्यौ भने हामी यसरी कुरा गर्ने थिएनौ, आज मैले अन्जानैमा  तिमीलाई जाने , थाहा छैन म खुशी हुनु पर्थ्यो कि दुखी ?? हुनत हामी अपरिचित नै छौ (खासमा तिम्रो लागि म ) र पनि जुन आत्मियता हामीमा थियो त्यसैले मलाई यो मेल लेख्न बाध्य  बनायो,सानु,मलाई झै तिमीलाई विश्वास नलाग्ला, किनकी मलाई पनि यो सत्य स्विकार गर्न हम्मे हम्मे परेको थियो, र पनि आखिर सत्य सत्य नै हुँदोरहेँछ, जसरी हामी एक अर्कोको बारेमा बिना जानकारी,बिना नाम  कुरा गर्‍थ्यौ,मलाई यो सम्बन्धको अन्त्य कसरी हुन्छ होला झै लाग्थ्यो , तर आजको सत्यता भने सोचेकै रहेनछु क्यारे मैले आज अचानक तिमी अरु कसैकी रहिछौ भन्ने जानेर भित्र भित्रै धेरै रोए , किन रोए कारण आँफैँलाई थाहा  छैन,तिमी  मेरो लागि हिजो सम्म नाम समेत् थाहा नभएकी थियौ , तर आजको यो वस्तविकता .... कि हामी सहपाठी हौँ, हामी एक अर्कालाई राम्रो सँग चिन्छौ, तिमी मेरी मिलनसार साथी,सानु... सायद तिमीलाई थाहा छैन होला कि..आज को म 'म' बन्नुको सबै योगदान मुनुको हो भनेर, जसका लागि म यो दुनियाँ समेत छोड्न तयार छु...तर तिमी उसैकी प्राणप्रिया रहिछौ भन्ने जानेर झन खुशी हुनुको सट्टा किन किन म भित्र भित्रै दुख्दै छु... ???
                     ''पाठकवर्ग यहाँ सम्म पढि सक्दा नसक्दै दिमाग अनी मन एकदम शुन्य झैँ भईसकेको थियो....'हामी एक अर्कालाई चिन्दा रहेँछौ,' 'मुनु मेरो आत्मिय साथी'  'अनी तिमी त मुनुकी पनि प्राणप्रिया' पालै पालो यती मात्र घुम्दै थियो मस्तिस्क भरी..... न त अगाडि पढ्न सके न त नपढी बन्द गर्न नै.... करिब् दश मिनेट जती पछी पुन: मेल पढ्ने साहस् बटुले.... ''
                     सानु, यो सत्यता शायद अझै हामी माझ लुक्थ्यो होला आज म त्यती नै बेला मुनुको अफिस नपसेको भए, अनी मुनुले त्यो आईडी जसमा हामी च्याट गर्‍थ्यौ त्यसै आईडिमा च्याट गरेको नदेखेको भए.... एक पटक त झस्के पनि , फेरी मुनुलाई सोध्न कुनै गाह्रो नहुने भएकोले सोधिहाले :- 
 '' ओई को संग गफ्फिदै छस??"
''ए तँ  पो ल ल बस है एक्कैछिन,  म कुरा सक्छु''
 ''ओई को हो त्यो मान्छे भन् त ??'' मैले फेरी सोधेँ,
 ''ल भन् त तै, तँ र म त एक मन दुई तन भएका साथी, केटाकेटी देखी सँगै हुर्क्यौ, पढ्यौ  मैले अरु कोही सँग कुरा गरेको तैले थाहा पाएको छस् त सोनु  बाहेक.....? फिस्स हाँस्दै मुनुले भन्यो !''
 उस्को कुराले म छक्क परे, विश्वास नै लागेन फेरी सोधेँ ''अनी उनको आईडी यो हो त ?? ''
''हो नि त, यो पनि उनैले  चलाउछिन,नचिनेका मान्छेहरु सँग च्याट बक्समा जान यही आईडी प्रयोग गर्छिन,साथीभाई माझ भने होइन ''
   मुनुको यो कुराले सबै वस्तबिकता खुल्यो.... तिमी सोनु रहिछ्यौ,हामी ले भिन्दा भिन्दै आईडी बाट आफ्नो बारेमा  एक शब्द पनि नभनी गफ्फिने  हामीहरु अन्तत: सधैं देख्ने भेट्ने साथी रहेँछौ ...
     ''एई!! म गए है, एक ठाउँमा जानु थियो भुलेर यता पो लागेछु, फेरी भेटौँला' भनेर बाहाना पारेर मैले मुनुसँग आफ्नो त्यो असामान्य अवस्था लुकाउँदै त्यहाँ बाट निस्किए !!
          मन मा अशान्ती यती थियो कि कहीं कतै शान्ति मिलेन ...हुन त हामी साथीको रुपमा कुरा गर्थ्यौ सुख दु:ख साट्थ्यौ, यो कस्तो संयोग आफ्नो नाम बिनाका आईडीले हामी दुई परिचितलाई अपरिचित बनाई यहाँ सम्म ल्यायो, आफ्नै मन नियालेको रहेँनछु मैले, नदेखेकी, नचिनेकी तिमीलाई कहिले देखी मनमा राखिसकेको रहेँछु,  मलाई नै थाहा थिएन, कहिले देखी तिमी म भित्र थियौ,यो मेल तिमीलाई नपठाई, एकै पटक च्याटमा भेट्न बन्द गरुँ कि भन्ने बिचार  पनि गरे तर आज सम्मको हाम्रो आत्मिय सम्बन्ध सम्झेँ अनी लाग्यो बरु खुलस्त भनेरै बिदा लिन्छु !यती थाहा पाएँ पछी तिमीले मुनुलाई मेरो बारेमा सोध्नेछौ अनी थाहा पाउनेछौ भन्ने पनि सोचे तर किन किन शायद यतिका दिन सम्म नाम पनि जान्न नखोजेकी ले अब पनि जान्न खोज्दिनौ भन्ने विश्वास लाग्यो,अनुमान लगाए पनि मुनुले नभने सम्म तिमी मलाई चिन्दिनौ, अनी मेरो मन भन्छ तिमी जान्न पनि खोज्दिनौ किनकी जान्नु पर्ने जती सत्य मैले तिमीलाई भनिसकेको छु ,अबको केही दिन पछी तिम्रो र मुनु को विवाह पनि हुँदैछ म खुशी खुशी सामेल हुनेछु,तर त्यो अन्जान साथी सोचेर होइन कि मुनुकी संसार सम्झेर, म सानुलाई प्रेम गर्छु, सोनुलाई होइन 'सानु' जो अन्जान छे,अपरिचित छे उ सधैं मेरो मनमा छे र रहन्छे पनि तिमी सोनु  जो मैले चिन्दछु, जाँन्दछु तिमी सधैं एक असल साथी छ्यौ र रहनेछ्यौ पनि, आज बाट सानु सधैंलाई मेरी भई अब उसलाई भेट्न म यो च्याटमा आउँनु पर्दैन त्यसैले म यो आईडी सधैंको लागि डिलिट गर्दै छु, सानु अब मेरो मनमा बस्नु है,यहाँ मलाई नकुर्नु ल ....बिदा !!
                                                                                                                   'सान ' 
  आज सम्म आईपुग्दा जीवनका कयौं बर्ष बिते ,मुनु र मेरो विहे भएको पनि पाँच बर्ष पुग्यो, कहिलेकाहीँ साँझ अझै त्यही आईडी खोलेर अनलाईन बस्छु,सायद भित्र मनमा अझै उ आउँने आशा छ, तर त्यो दिन पछी उसलाई कहिल्यै अनलाईन भेटिन, न त कुनै म्यासेज आयो न त अर्को मेल नै,मुनुलाई सोधौ झै पनि लाग्यो तर मलाई त उसको नाम सम्म पनि थाहा थिएन, मुनु सँग नजिकिका आधारमा पनि मैले उसलाई खोज्नु असम्भव थियो, किनकी मुनु कलेज अनी अफिस सबै मा सधैं सबै को प्यारो थियो , सोचे अन्जानमा गाँसिएको नाता अन्जानैमा टुट्यो, अपरिचित आत्मियता नै प्यारो छ, यही सम्झी  चुप रहें,र पनि मेरो मनले  मुनुका साथीहरु माझ एकाध उसलाई खोज्ने असफल प्रयास गर्‍यो,  तर खै म के जानौ उसले आफुलाई कसरी लुकायो,र पनि कहिले काहीँ बिशेषत: साँझमा जब म ईटरनेटको दुनियाँमा हुन्छु तब उ अनायासै मलाई याद आउँछ,  अझै पनि कहिलेकहीँ मनमा आउँछ, चिन्न पाएको भए,को थ्यो होला उ....