कथा ''एक संयोग ''


   उसको र मेरो भेट ईन्टरनेट संजालले नै गराएको हो, उ अर्थात सान सँग मेरो सधै अनलाइन भेट हुन्थ्यो, याहू , गूगल ले हामीलाई एक अर्को सँग निक्कै नजिक बनाएको थियो, हामीले प्रत्यक्ष भेटेका छैनौ भन्ने आवाष हाम्रो सम्बन्धमा कहिले पनि परेन , एक अर्काका  सामु  हामीले आफ्ना कुरा स्पस्ट रुपमै राख्ने भएकोले हो कि,हामीमा बिभेद कहिल्यै  कुनै कुरामा भएन, कुनै दिन कुरा गर्न मन लागेन त हामी सिधा एक अर्काकालाई भन्थ्यौ र मन लाग्दा घन्टौ सम्म गफ्फिन्थ्यौ, सधैं प्रायस: बेलुका कुरा गर्ने हामीहरु साँझ परे पछी एक अर्कालाई अनलाईनमा कुर्थ्यौ, आफ्नो दैनिक गर्नु पर्ने काम सकेर मात्रै हामी च्याटमा गफ्फिन्थ्यौ, काम सकेर अनलाईनमा कसले पहिले कसलाई कुर्ने भन्ने हामीमा एकखालको प्रतिस्पर्धा नै  हुने गर्‍थ्यो, यो प्रतिस्पर्धामा कहिले उ मलाई उछिन्थ्यो भने कहिले म उसलाई, सधैं झै एक दिन सबै काम सकेर साँझ अनलाईन कुरा गर्न भनि म्यासेन्जर साईन ईन गरेँ ,तर  उ आईपुगेको थिएन, सोचे 'आज त म फर्स्ट भए' एकछिन त कुरे, तर जस्तै ढिलो हुँदा पनि आईपुग्ने समय सम्म पनि उ नआईपुगेकाले भित्र भित्रै म छट्पटिन लागे,ईन्भिजिबल बसेर कहिलेकाहीं रिप्लाई नगरि  उ मलाई केही मिनेट सताउथ्यो, त्यस्तो हुँदा घुर्क्याउदै केही म्यासेज सेन्ड गरेपछी उ ''आए बाबा सरि नि त,सानलाई माफ गरिदेउ न है एक पटक, गल्ती भै'हाल्यो ,अब देखी सताउदिन, ल मैले कान पनि समाते'' भन्दै म्यासेज गर्ने गर्थ्यो,आज पनि कतै उ मलाई सताउदै त छैन भन्दै धेरै म्यासेज पठाएँ तर उताबाट कुनै रिप्लाई आएन, मन त्यसै त्यसै अत्तालिन लाग्यो ,मलाई मनको बाघले भित्र भित्रै सलक्कै निल्न लागिसकेको थियो, त्यतिकैमा नयाँ मेल आएको साईन कम्प्युटरले देखायो ''फ्रम'' भनेर उसको नाम पनि देखियो,खुशी,अत्त्यास र कौतुहलताले एकै चोटि छोप्यो, सधैं म्यासेन्जरमा आउने मान्छे आज किन मेल लेखेको होला?? केहीं काम परेको भए पनि भनेर निस्किन्थ्यो सधैं, आज त्यस्तो के भयो होला?? सोच्दा सोच्दै मेल पनि  खुल्यो,जसको थालनी यसरी थियो :-
 'सानु' ,
    नौलो लाग्यो होला सम्बोधन, किनकी आज सम्म मैले तिमीलाई नामले बोलाएको छैन कारण मलाई तिम्रो नाम थाहा छैन... न त तिमीले भन्यौं न त मैले नै सोध्न आवश्यक ठानेँ , सोचे नाममा के नै छ र,एक सम्बोधन न हो, मलाई 'सानु' प्रिय लाग्यो त्यसैले मेरो प्रिय मान्छेलाई यही नाम दिए, तिमीले मलाई 'सान' दिए जस्तै, तिमीले मेरो नाम, बसाई र कामको बारेमा कहिल्यै केहीं पनि सोधिनौँ, किन सोधिनौ, त्यो तिमीलाई नै थाहा होला,नाम बिहिन आई.डि. मा भेट भई यत्तिका  महिना (यसर्थ कि आजै हाम्रो पहिलो भेट सम्झे अनी मिती खोजे, हामी यो दुनियाँमा भेट्न थालेको पनि छ महिना लगभग पुरा भईसकेछ)एक अर्काको नाम अनि कुनै औपचारिक कुराकानी बिनानै हामीमा सधैं देखे बोलेको मनिष भन्दा बढी आत्मीयता स्थापित भएछ, दिन भरी के के गरियो बेलुका एक अर्कोलाई सुनाउनै हतार,आज सम्मको मेरो  हरेक हाँसो अनि खुशीमा सधैं तिम्रो साथ पाएको छु,अनलाईन मान्छे भेट्ने बेलामा मेल पाउँदा तिमी थोरै छक्क अनि धेरै आत्तिएकी हौली, नआत्तिनु है सानु, बिस्तारै यो मेल पढ त्यसपछी तिमीले मान्छे अनलाईन भेटिनुको साटो आज  किन मेल पायौ अन्तत: आँफै बुझ्ने छ्यौ !!
     सानु, हामीले एक अर्काको बारेमा कहिलै केही सोधेनौ, सायद सोध्थ्यौ र जान्थ्यौ भने हामी यसरी कुरा गर्ने थिएनौ, आज मैले अन्जानैमा  तिमीलाई जाने , थाहा छैन म खुशी हुनु पर्थ्यो कि दुखी ?? हुनत हामी अपरिचित नै छौ (खासमा तिम्रो लागि म ) र पनि जुन आत्मियता हामीमा थियो त्यसैले मलाई यो मेल लेख्न बाध्य  बनायो,सानु,मलाई झै तिमीलाई विश्वास नलाग्ला, किनकी मलाई पनि यो सत्य स्विकार गर्न हम्मे हम्मे परेको थियो, र पनि आखिर सत्य सत्य नै हुँदोरहेँछ, जसरी हामी एक अर्कोको बारेमा बिना जानकारी,बिना नाम  कुरा गर्‍थ्यौ,मलाई यो सम्बन्धको अन्त्य कसरी हुन्छ होला झै लाग्थ्यो , तर आजको सत्यता भने सोचेकै रहेनछु क्यारे मैले आज अचानक तिमी अरु कसैकी रहिछौ भन्ने जानेर भित्र भित्रै धेरै रोए , किन रोए कारण आँफैँलाई थाहा  छैन,तिमी  मेरो लागि हिजो सम्म नाम समेत् थाहा नभएकी थियौ , तर आजको यो वस्तविकता .... कि हामी सहपाठी हौँ, हामी एक अर्कालाई राम्रो सँग चिन्छौ, तिमी मेरी मिलनसार साथी,सानु... सायद तिमीलाई थाहा छैन होला कि..आज को म 'म' बन्नुको सबै योगदान मुनुको हो भनेर, जसका लागि म यो दुनियाँ समेत छोड्न तयार छु...तर तिमी उसैकी प्राणप्रिया रहिछौ भन्ने जानेर झन खुशी हुनुको सट्टा किन किन म भित्र भित्रै दुख्दै छु... ???
                     ''पाठकवर्ग यहाँ सम्म पढि सक्दा नसक्दै दिमाग अनी मन एकदम शुन्य झैँ भईसकेको थियो....'हामी एक अर्कालाई चिन्दा रहेँछौ,' 'मुनु मेरो आत्मिय साथी'  'अनी तिमी त मुनुकी पनि प्राणप्रिया' पालै पालो यती मात्र घुम्दै थियो मस्तिस्क भरी..... न त अगाडि पढ्न सके न त नपढी बन्द गर्न नै.... करिब् दश मिनेट जती पछी पुन: मेल पढ्ने साहस् बटुले.... ''
                     सानु, यो सत्यता शायद अझै हामी माझ लुक्थ्यो होला आज म त्यती नै बेला मुनुको अफिस नपसेको भए, अनी मुनुले त्यो आईडी जसमा हामी च्याट गर्‍थ्यौ त्यसै आईडिमा च्याट गरेको नदेखेको भए.... एक पटक त झस्के पनि , फेरी मुनुलाई सोध्न कुनै गाह्रो नहुने भएकोले सोधिहाले :- 
 '' ओई को संग गफ्फिदै छस??"
''ए तँ  पो ल ल बस है एक्कैछिन,  म कुरा सक्छु''
 ''ओई को हो त्यो मान्छे भन् त ??'' मैले फेरी सोधेँ,
 ''ल भन् त तै, तँ र म त एक मन दुई तन भएका साथी, केटाकेटी देखी सँगै हुर्क्यौ, पढ्यौ  मैले अरु कोही सँग कुरा गरेको तैले थाहा पाएको छस् त सोनु  बाहेक.....? फिस्स हाँस्दै मुनुले भन्यो !''
 उस्को कुराले म छक्क परे, विश्वास नै लागेन फेरी सोधेँ ''अनी उनको आईडी यो हो त ?? ''
''हो नि त, यो पनि उनैले  चलाउछिन,नचिनेका मान्छेहरु सँग च्याट बक्समा जान यही आईडी प्रयोग गर्छिन,साथीभाई माझ भने होइन ''
   मुनुको यो कुराले सबै वस्तबिकता खुल्यो.... तिमी सोनु रहिछ्यौ,हामी ले भिन्दा भिन्दै आईडी बाट आफ्नो बारेमा  एक शब्द पनि नभनी गफ्फिने  हामीहरु अन्तत: सधैं देख्ने भेट्ने साथी रहेँछौ ...
     ''एई!! म गए है, एक ठाउँमा जानु थियो भुलेर यता पो लागेछु, फेरी भेटौँला' भनेर बाहाना पारेर मैले मुनुसँग आफ्नो त्यो असामान्य अवस्था लुकाउँदै त्यहाँ बाट निस्किए !!
          मन मा अशान्ती यती थियो कि कहीं कतै शान्ति मिलेन ...हुन त हामी साथीको रुपमा कुरा गर्थ्यौ सुख दु:ख साट्थ्यौ, यो कस्तो संयोग आफ्नो नाम बिनाका आईडीले हामी दुई परिचितलाई अपरिचित बनाई यहाँ सम्म ल्यायो, आफ्नै मन नियालेको रहेँनछु मैले, नदेखेकी, नचिनेकी तिमीलाई कहिले देखी मनमा राखिसकेको रहेँछु,  मलाई नै थाहा थिएन, कहिले देखी तिमी म भित्र थियौ,यो मेल तिमीलाई नपठाई, एकै पटक च्याटमा भेट्न बन्द गरुँ कि भन्ने बिचार  पनि गरे तर आज सम्मको हाम्रो आत्मिय सम्बन्ध सम्झेँ अनी लाग्यो बरु खुलस्त भनेरै बिदा लिन्छु !यती थाहा पाएँ पछी तिमीले मुनुलाई मेरो बारेमा सोध्नेछौ अनी थाहा पाउनेछौ भन्ने पनि सोचे तर किन किन शायद यतिका दिन सम्म नाम पनि जान्न नखोजेकी ले अब पनि जान्न खोज्दिनौ भन्ने विश्वास लाग्यो,अनुमान लगाए पनि मुनुले नभने सम्म तिमी मलाई चिन्दिनौ, अनी मेरो मन भन्छ तिमी जान्न पनि खोज्दिनौ किनकी जान्नु पर्ने जती सत्य मैले तिमीलाई भनिसकेको छु ,अबको केही दिन पछी तिम्रो र मुनु को विवाह पनि हुँदैछ म खुशी खुशी सामेल हुनेछु,तर त्यो अन्जान साथी सोचेर होइन कि मुनुकी संसार सम्झेर, म सानुलाई प्रेम गर्छु, सोनुलाई होइन 'सानु' जो अन्जान छे,अपरिचित छे उ सधैं मेरो मनमा छे र रहन्छे पनि तिमी सोनु  जो मैले चिन्दछु, जाँन्दछु तिमी सधैं एक असल साथी छ्यौ र रहनेछ्यौ पनि, आज बाट सानु सधैंलाई मेरी भई अब उसलाई भेट्न म यो च्याटमा आउँनु पर्दैन त्यसैले म यो आईडी सधैंको लागि डिलिट गर्दै छु, सानु अब मेरो मनमा बस्नु है,यहाँ मलाई नकुर्नु ल ....बिदा !!
                                                                                                                   'सान ' 
  आज सम्म आईपुग्दा जीवनका कयौं बर्ष बिते ,मुनु र मेरो विहे भएको पनि पाँच बर्ष पुग्यो, कहिलेकाहीँ साँझ अझै त्यही आईडी खोलेर अनलाईन बस्छु,सायद भित्र मनमा अझै उ आउँने आशा छ, तर त्यो दिन पछी उसलाई कहिल्यै अनलाईन भेटिन, न त कुनै म्यासेज आयो न त अर्को मेल नै,मुनुलाई सोधौ झै पनि लाग्यो तर मलाई त उसको नाम सम्म पनि थाहा थिएन, मुनु सँग नजिकिका आधारमा पनि मैले उसलाई खोज्नु असम्भव थियो, किनकी मुनु कलेज अनी अफिस सबै मा सधैं सबै को प्यारो थियो , सोचे अन्जानमा गाँसिएको नाता अन्जानैमा टुट्यो, अपरिचित आत्मियता नै प्यारो छ, यही सम्झी  चुप रहें,र पनि मेरो मनले  मुनुका साथीहरु माझ एकाध उसलाई खोज्ने असफल प्रयास गर्‍यो,  तर खै म के जानौ उसले आफुलाई कसरी लुकायो,र पनि कहिले काहीँ बिशेषत: साँझमा जब म ईटरनेटको दुनियाँमा हुन्छु तब उ अनायासै मलाई याद आउँछ,  अझै पनि कहिलेकहीँ मनमा आउँछ, चिन्न पाएको भए,को थ्यो होला उ....

No comments:

Post a Comment